काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले आर्टेमिस–२ यानको प्रक्षेपणका लागि तोकिएको मार्च ६ को मिति रद्द गरेको छ । प्रक्षेपणको तयारीस्वरूप गरेको अभ्यास परीक्षणका क्रममा हिलियम ग्यासको आपूर्तिमा अवरोध देखिएपछि यो निर्णय गरेको नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो । नासाका प्रशासक जेरेड आइज्याकम्यानले ४८ घण्टाभन्दा बढीको जाँचमा कुनै त्रुटि नदेखिएकाले प्रक्षेपण मिति घोषणा गरेकोमा पछि हिलियम प्रवाहमा समस्या देखिएको हो ।
इन्धन ट्याङ्की दबाबमा राख्न र रकेट प्रणाली चिसो राख्न प्रयोग हुने हिलियममा अवरोधलाई नासाले गम्भीर प्राविधिक समस्याका रूपमा लिन्छ । यसअघि पनि फिल्टर र सिलमा समस्या देखिएपछि सुधार गरेर दोस्रो अभ्यास परीक्षण गरिएको थियो ।
बिहीबार रकेटमा झन्डै २७ लाख ७० हजार लिटर इन्धन भरिएको थियो । यो अभियानमा तीन अमेरिकी र एक क्यानाडियन अन्तरिक्षयात्री चन्द्रमाको परिक्रमा गरी पृथ्वी फर्कने कार्यक्रम थियो ।
थप मर्मतसम्भार गर्नुपर्ने भएकाले केही हप्ताभित्र नयाँ प्रक्षेपण मिति तय हुने नासाले जनाएको छ । यो अभियान सफल भएमा नासाले सन् २०२८ सम्म चन्द्रमाको सतहमा मानव उतार्ने आर्टेमिस–३ मिशन सञ्चालन गर्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया