मेक्सिकोमा ६२ जनाको मृत्यु, २० बैंक जलाइए

मेक्सिकोमा ६२ जनाको मृत्यु, २० बैंक जलाइए



काठमाडौं । मेक्सिकोमा सुरक्षा बलको अपरेसनमा कुख्यात ड्रग डन नेमेसियो ओसेगेरा सर्वान्तेस उर्फ ‘एल मेन्चो’ मारिएपछि मेक्सिकोका ३१ मध्ये २० राज्यमा हिंसा भड्किएको छ ।

एनबीसी न्युजका अनुसार धेरै स्थानमा सडकहरू अवरुद्ध गरिएका छन् । गाडी तथा २० भन्दा बढी सरकारी बैंकका शाखाहरूमा आगजनी गरिएको छ ।

जालिस्कोमा लकडाउनजस्तै अवस्था रहेको छ । यो सहर फिफा २०२६ का आयोजक सहरहरूमध्ये एक हो । विभिन्न सहरमा कम्तीमा ६२ जनाको मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ, जसमा सुरक्षाकर्मी पनि छन् । अपरेसनका क्रममा हतियार रहेका गाडी र रकेट लन्चरसहितका हतियारहरू जफत गरिएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका मेक्सिको विश्लेषक डेभिड मोराका अनुसार, यो कारबाही शेनबाम सरकारको कार्टेलविरुद्धको कडा नीति र अमेरिकाको दबाब दुवै दृष्टिकोणबाट ‘टर्निङ पोइन्ट’ हो ।

यदि, ‘एल मेन्चो’का आफन्तहरूले कार्टेलको कमान्ड सम्हालेमा हिंसा अझै जारी रहन सक्ने बताइएको छ । विज्ञहरूले सन् १९९० को दशकमा कोलम्बियामा भएका कार बम विस्फोट, हत्या तथा विमानहरूमाथिका आक्रमणजस्ता घटनाहरू दोहोरिन सक्ने आशंका गरिरहेका छन् ।

मेन्चोका समर्थकहरूले बदला लिनका लागि राजमार्गहरू जाम गरेका छन् र गाडीहरूमा तोडफोड गरेका छन् ।