वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सुरु गरेको सैन्य कारबाही तीव्र भएसँगै आइतबार पहिलो पटक अमेरिकी सेनाको तर्फबाट मानवीय क्षतिको विवरण सार्वजनिक भएको छ । पछिल्लो दुई दिनदेखि जारी यस युद्धमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
कुवेतस्थित सैन्य आधार शिविरमा इरानको प्रतिशोधात्मक आक्रमणका क्रममा यी सैनिकहरू मारिएको दाबी गरिएको छ। गत वर्ष कार्यभार सम्हालेयता ट्रम्पले चालेका ठूला सैन्य कदमहरूमध्ये यो पहिलो ठुलो क्षति हो ।
युद्धको मैदानमा अमेरिकी सेनाले अहिलेसम्म इरानका ४८ जना उच्च नेताहरू मारिएको र इरानी नौसेनाका नौवटा युद्धपोतहरू ध्वस्त पारिएको दाबी गरेको छ । अमेरिकी कमान्डका अनुसार शनिबारदेखि सुरु भएको यस अपरेसनमा विमान र युद्धपोतहरूले इरानका एक हजारभन्दा बढी लक्ष्यहरूमा आक्रमण गरिसकेका छन् । यसमा बी-२ स्टिल्थ बमवर्षक विमानहरूले इरानका भूमिगत मिसाइल अखडाहरूमा भारी बम प्रहार गरेका छन् ।
राष्ट्रपति ट्रम्पले यस द्वन्द्व अझै चार हप्तासम्म लम्बिन सक्ने संकेत दिँदै थप सैन्य क्षति हुन सक्ने भन्दै अमेरिकी जनतालाई मानसिक रूपमा तयार रहन आग्रह गरेका छन् । उनले मारिएका सैनिकको मृत्युको बदला लिने र आतंककारीहरूलाई कडा सजाय दिने उद्घोष समेत गरेका छन्।
यसैबीच, इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु र निरन्तरको आक्रमणले विश्व अर्थतन्त्र, ढुवानी र हवाई यात्रा क्षेत्रमा ठूलो हलचल पैदा गरेको छ ।
इरानका विदेशमन्त्रीले अफगानिस्तान र इराकमा अमेरिकाले भोगेको पराजयबाट आफूहरूले पाठ सिकेको बताउँदै राजधानी तेहरानमा हुने बमबारीले आफ्नो युद्ध गर्ने क्षमतामा कुनै असर नपर्ने चेतावनी दिएका छन् । उनले इरानी सेना प्रतिकारका लागि पूर्ण रूपमा तयार रहेको सन्देश सामाजिक सञ्जालमार्फत दिएका छन् ।
अमेरिकाभित्र भने यो युद्धलाई लिएर जनमत विभाजित देखिएको छ । रोयटर्स र इप्सोसले गरेको पछिल्लो सर्वेक्षण अनुसार केवल २७ प्रतिशत अमेरिकीले मात्र इरानमाथिको यस आक्रमणलाई समर्थन गरेका छन् । ४३ प्रतिशतले यसको विरोध गरेका छन् भने २९ प्रतिशत नागरिक अझै अन्योलमा छन् । संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूत माइकल वाल्ट्जले भने स्वतन्त्रता कहिल्यै निःशुल्क प्राप्त हुँदैन भन्दै सैन्य कारबाहीको बचाउ गरेका छन् ।


प्रतिक्रिया