काठमाडौं । इरानको राष्ट्रपति कार्यालय परिसरमा आफ्नो वायुसेनाले आक्रमण गरेको इजरायलले दाबी गरेको छ ।
इजरायली सुरक्षा बल (आईडीएफ) ले राष्ट्रपति कार्यालय तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्माथि कैयौँ गोलाबारुद खसालेको बताएको बीबीसीले जनाएको छ ।
आईडीएफले एउटा सैनिक प्रशिक्षण प्रतिष्ठान र अन्य पूर्वाधारहरूलाई पनि निशाना बनाएको दाबी गरेको छ ।
आईडीएफका अनुसार इरानका भूतपूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले त्यो परिसरको प्रयोग गर्ने गरेका थिए ।
गएको सप्ताहान्तमा इजरायली–अमेरिकी संयुक्त आक्रमणमा खामेनी मारिएका थिए । आफ्ना सर्वाेच्च नेता मारिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ ।
यस्तै इजरायलले इरानको राजधानी तेहरान र लेबनानको राजधानी बेरुतमा रहेका सैन्य स्थलहरूमा आफ्नो सेनाले आक्रमण गरिरहेको बताएको छ ।
यस्तै इरानले साउदी अरेबियाको रियादमा रहेको अमेरिकी दूतावासमा ड्रोन प्रहार गरेको छ । इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेपछि इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी साझेदार राष्ट्रहरूमाथि मिसाइल र ड्रोन प्रहार गरिरहेको छ ।
यस्तै इजरायली–अमेरिकी हवाई आक्रमणपछि इरानको ऐतिहासिक गोलेस्तान दरबारमा क्षति पुगेको छ । संयुक्त राष्ट्रसङ्घको संस्कृति तथा पुरातत्त्व हेर्ने निकाय युनेस्कोले विश्व सम्पदा सूचीमा रहेका स्थलहरूमा आक्रमण नगर्न आग्रह गरेको छ ।
यसैबीच इरान समर्थित लेबनानी लडाकु समूह हिजबुल्लाहले इजरायलले गरेको आक्रमणको जवाफ दिन उसका तीन वटा सैन्य स्थलमा मिसाइल प्रहार गरेको जनाएको छ ।


प्रतिक्रिया