भू–राजनीतिक जोखिम बढेपछि चीनले आर्थिक वृद्धिदर लक्ष्य घटायो

भू–राजनीतिक जोखिम बढेपछि चीनले आर्थिक वृद्धिदर लक्ष्य घटायो



काठमाडौं । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको लक्ष्य ४ दशमलव ५ देखि ५ प्रतिशतमा सीमित राख्ने घोषणा गरेको छ । यो सन् १९९१ यताको सबैभन्दा न्यून वृद्धि लक्ष्य हो ।

प्रधानमन्त्री ली किआङले आज राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकको उद्घाटन सत्रमा सरकारी प्रतिवेदन प्रस्तुत गर्दै यो लक्ष्य सार्वजनिक गर्नुभयो । गएको वर्षको वास्तविक ५ प्रतिशत वृद्धिदरभन्दा यो लक्ष्य केही कम हो ।

घरजग्गा बजारको मन्दी, कमजोर घरेलु माग र अमेरिकाले लगाएको उच्च आयात शुल्कका कारण चीनको अर्थतन्त्र दबावमा रहेको छ । गएको वर्ष चीनको व्यापार अधिशेष झन्डै १२ खर्ब अमेरिकी डलरको रेकर्ड स्तरमा पुगे पनि अमेरिकातर्फको निर्यात भने घटेको छ ।

सरकारले उपभोक्ता खर्च बढाउन पुराना सामान साट्ने नागरिकलाई छुट दिन २ खर्ब ५० अर्ब युआनको बन्ड जारी गर्ने योजना अघि सारेको छ । साथै चीनले रक्षा बजेटमा ७ प्रतिशत वृद्धि गर्दै झन्डै २ खर्ब ७० अर्ब डलर विनियोजन गरेको छ ।

विश्लेषकहरूका अनुसार घरेलु माग पुनर्जीवित नगरे चीनलाई दीर्घकालीन दिगो वृद्धि हासिल गर्न कठिन हुनेछ ।