काठमाडौं । मध्यपूर्वमा युद्ध थप भयावह बन्दै गएको छ । अमेरिका र इजरायलसँग चलिरहेकाे युद्धबीच इरानले आज इराकमा रहेका कुर्दिश समूहमाथि आक्रमण गरेको छ । इरानका राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले पृथकतावादी समूहले यो अवसर ठानेर कुनै कदम चाल्ने भूल नगर्न कडा चेतावनी दिएका छन् ।
युद्धको प्रभाव फैलिँदै गएको छ । इरानको एलिट रिभोलुसनरी गार्ड्सले होर्मुज मार्ग बन्द गरेको दाबी गरेको छ । यहाँबाट कच्चा तेल आपूर्ति हुने गर्दछ । बजार विश्लेषण संस्था केप्लरका अनुसार तेल ट्याङ्करको आवागमन झन्डै ९० प्रतिशतले घटेको छ ।
इरानको राजधानी तेहरानमा आज बिहान धेरै विस्फोटका आवाज सुनिएका छन् । इजरायलले तेहरानमा ठूलो आक्रमण अभियान जारी रहेको दाबी गरेको छ । लेबनानमा पनि दक्षिण बेरुतमा आक्रमण भएका छन् भने सडकमा गुडिरहेको गाडीमा ड्रोन प्रहार हुँदा तीन जनाको ज्यान गएको छ ।
समुद्री मोर्चामा पनि युद्ध विस्तार भएको छ । अमेरिकाले श्रीलङ्काको तट नजिक इरानी युद्धपोत डुबाएको बताएको छ जसमा ८७ वटा शव बरामद भएका छन् ।
खाडी क्षेत्रमा कुवेत, साउदी अरेबिया र कतारसम्म तनाव फैलिएको छ । कतारले राजधानी दोहामा नागरिकलाई घरभित्रै बस्न सतर्क गरेको छ ।


प्रतिक्रिया