अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उच्च वृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उच्च वृद्धि



काठमाडौं । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि युद्ध मध्यपूर्वमा फैलिँदै गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उच्च वृद्धि भएको छ । आज एकै दिन ब्रेन्ट क्रुडको मूल्य ३ दशमलव २६ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ८३ दशमलव ९९ डलर पुगेको छ ।

युद्ध शुरू भएको ६ दिनमा भने कच्चा तेलको भाउ झन्डै १४ प्रतिशतले बढिसकेको छ । तेल र ग्यास आपूर्तिमा लामो समय अवरोध हुने डरका कारण कच्चा तेलको भाउ बढेको हो ।

इरान–इजरायल युद्धका कारण स्ट्रेट अफ हर्मुज जलमार्ग ठप्प जस्तै बनेको छ । भाउ बढ्नुमा यही मार्गको अवरोध मुख्य हो । हर्मुज मार्ग इरान र ओमानबीचको जलमार्ग हो । यसले खाडीलाई अरब सागरसँग जोड्छ । विश्वको कुल तेल खपतको २० प्रतिशत बराबरको तेल ढुवानी यही मार्गबाट हुने गरेको छ ।

नेपालमा आउने तेलको ठूलो हिस्सा यही मार्ग हुँदै आउने गरेको छ । नेपालले कच्चा तेल आयात गर्दैन । नेपाल आयात हुने पेट्रोलियम पदार्थको सबै हिस्सा भारतमा निर्भर छ ।

भारतले यही मार्ग हुँदै दैनिक २५ लाख ब्यारेल तेल आयात गर्ने भएकोले यो मार्गको अवरोधको समस्या नेपालमा पनि पर्ने भएको हो । भारतले अहिलेसम्म नेपाल पठाउने तेलको भाउ बढाइसकेको छैन ।

भारतले हरेक महिनाको अन्तिम दिन र १४ तारिख गरी १५–१५ दिनमा मूल्यसूची पठाउँछ । मार्च महिनाको १ देखि १४ तारिखसम्मको लागि मूल्यसूचि आइसकेकोले त्यस बेलासम्म भाउ नबढ्ने अपेक्षा छ । तर विशेष परिस्थिति रहेकोले अवस्था फरक पनि हुन सक्छ ।