इजरायल र अमेरिकासँग आत्मसमर्पण नगर्ने इरानको अडान यथावत्

इजरायल र अमेरिकासँग आत्मसमर्पण नगर्ने इरानको अडान यथावत्



काठमाडौं । इरानले इजरायल र अमेरिकासामु आत्मसमर्पण नगर्ने अडान दोहोर्‍याएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले देशवासीलाई सम्बोधन गर्दै आफ्नो देशले बाह्य दबावकाबीच पनि सङ्घर्षलाई जारी राख्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्ने पक्षहरूले इरानी नागरिकलाई झुकाउन सकिन्छ भन्ने सोच राख्नु गलत हुने टिप्पणी गरे ।

यसैबीच राष्ट्रपति पेजेस्कियानले इरानको कारबाहीबाट प्रभावित छिमेकी देशहरूसँग क्षमा मागे छन् । उनले आफ्ना तथा इरानको तर्फबाट ती देशहरूसँग माफी मागेको खबरमा उल्लेख छ ।

एक हप्ताअघि इजरायल र अमेरिकाले इरानमा संयुक्त सैन्य आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको छ । मध्यपूर्वमा तनाव चर्किँदै जाँदा त्यस क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ ।

खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबरहरू आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि यसको प्रभाव देखिन थालेको छ ।

आज (यूएई) को दुबई र बहराइनको राजधानी मानामामा शक्तिशाली विस्फोटको आवाज सुनिएको समाचार संस्था एएफपीले जनाएको छ ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले इजरायललाई १२ हजार बम क्यासिङ बिक्री गर्न ‘आपत्कालीन’ स्वीकृति दिएको जनाएको छ । विदेश मन्त्रालयको राजनीतिक–सैन्य मामिला ब्युरोका अनुसार प्रस्तावित बिक्रीले इजरायलको रक्षा क्षमता सुदृढ बनाउने, वर्तमान र भविष्यका खतराहरू सामना गर्न सहयोग गर्ने तथा क्षेत्रीय खतराविरुद्ध निवारकका रूपमा काम गर्ने अपेक्षा छ ।