इरान युद्ध र ऊर्जा सङ्कटका बिच ट्रम्प र पुटिनबिच टेलिफोन वार्ता

इरान युद्ध र ऊर्जा सङ्कटका बिच ट्रम्प र पुटिनबिच टेलिफोन वार्ता



मस्को । विश्वभर ऊर्जा सङ्कट चुलिँदै गएको र इरानमा युद्ध जारी रहेको गम्भीर परिस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच सोमबार टेलिफोन वार्ता भएको छ । यस वर्ष यी दुई नेताबिच भएको यो पहिलो वार्ता हो ।

वार्तामा मुख्य गरी इरानमा जारी युद्ध, युक्रेनमा शान्तिको सम्भावना र विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको उछालका विषयमा छलफल भएको छ । इरानमा अमेरिका र इजरायलको आक्रमणपछि स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि देखिएको भन्दा ठुलो ऊर्जा सङ्कट अहिले विश्व अर्थतन्त्रमा देखिएको छ ।

फ्लोरिडास्थित आफ्नो गल्फ क्लबमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पुटिनसँगको कुराकानी फलदायी भएको जानकारी दिएका छन् । ट्रम्पका अनुसार पुटिनले इरान मामिलामा सहयोग गर्न इच्छा देखाएका छन् । जवाफमा ट्रम्पले पुटिनलाई रुस-युक्रेन युद्ध अन्त्य गरेर अझ ठुलो सहयोग गर्न आग्रह गरेको बताएका छन् ।

अर्कोतर्फ, रुसी राष्ट्रपति पुटिनले इरानमाथिको युद्धले विश्व ऊर्जा बजारलाई जोखिममा पारेको चेतावनी दिँदै खाडी मुलुकबाट हुने तेल ढुवानी जुनसुकै बेला ठप्प हुन सक्ने बताएका छन् । पुटिनले युरोपेली देशहरू दीर्घकालीन सहकार्यका लागि तयार भए रुस पुनः ग्यास र तेल उपलब्ध गराउन तयार रहेको सङ्केत समेत गरेका छन् ।

मध्यपूर्वको द्वन्द्वका कारण तेल आपूर्तिमा आएको अवरोधलाई सम्बोधन गर्न ट्रम्प प्रशासनले रुसमाथि लगाइएका केही कडा प्रतिबन्धहरू खुकुलो बनाउनेबारे गम्भीर विचार गरिरहेको छ । विश्व बजारमा तेलको अभाव कम गर्न रुसी तेललाई बजारमा आउन दिने तयारी अमेरिकाले गरेको हो ।

यस अन्तर्गत भारत जस्ता देशहरूले अमेरिकी दण्ड वा शुल्कको डर बिना रुसी तेल किन्न पाउने गरी विशेष सहुलियत दिनेबारे छलफल भइरहेको छ । गत हप्ता मात्रै अमेरिकाले भारतलाई समुद्रमा ट्याङ्करमा रहेका रुसी कच्चा तेल अस्थायी रूपमा खरिद गर्न अनुमति दिएको थियो ।

रुसी विदेश नीति सल्लाहकार युरी उसाकोभले यो वार्ता निकै अर्थपूर्ण रहेको र यसले दुई देशबिचको भावी कार्यदिशामा व्यवहारिक महत्त्व राख्ने बताएका छन् । उसाकोभका अनुसार ट्रम्प पनि युक्रेन युद्धमा तत्काल युद्धविराम र दीर्घकालीन समाधानको पक्षमा देखिएका छन् । रुसी सेना युक्रेनमा अगाडि बढिरहेको अवस्थामा किभले अब वार्ताको बाटो रोज्नुपर्ने रुसको बुझाइ छ ।