मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको इरानको दाबी

मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको इरानको दाबी



तेहरान । इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा कतार, कुवेत र इराकस्थित अमेरिकी अड्डाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार कतारको अल उदैद एयरबेस, कुवेतको क्याम्प अरिफजान तथा इराकको हरिर सैन्य अड्डामा आक्रमण गरिएको बताइएको छ ।

इरानी सरकारी समाचार संस्था आईएसएनएले सेयर गरेको उक्त विज्ञप्तिमा खाडी क्षेत्रस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडाको संरचनालाई समेत निशाना बनाइएको दाबी गरिएको छ ।

आईआरजीसीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठुलो र विनाशकारी सैन्य अभियान भएको बताएको छ । यस आक्रमणमा अमेरिकी सेनाको सञ्चालनात्मक संरचना नष्ट गरिएको दाबी इरानको छ । तर हालसम्म अमेरिकी अधिकारीहरूले उक्त आक्रमणबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।