प्योङयाङ । मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने इरानको निर्णयलाई उत्तर कोरियाले सम्मान गर्ने जनाएको छ । साथै उसले इरानमाथि भएको अमेरिका–इजरायलको आक्रमणलाई अवैध भन्दै कडा निन्दा पनि गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बुधबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै इरानी जनताले आफ्नो सर्वोच्च नेता चयन गर्ने अधिकारलाई प्योङयाङले सम्मान गर्ने जनाएको हो ।
मोज्तबा खामेनी इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका माइला छोरा हुन् । अली खामेनी गत फेब्रुअरी २८ मा युद्धको सुरुवातमै भएको अमेरिका–इजरायलको आक्रमणमा मारिएका थिए । त्यसपछि इरानको एक्सपट्र्सको सभाले मोज्तबा खामेनीलाई इस्लामिक क्रान्तिको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको घोषणा गरेको थियो ।
उत्तर कोरियाले उक्त निर्णयप्रति सम्मान व्यक्त गर्दै अमेरिका र इजरायलले इरानविरुद्ध गरेको सैन्य आक्रमणले क्षेत्रीय शान्ति र सुरक्षाको आधारलाई कमजोर बनाएको आरोप लगाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘अमेरिका र इजरायलले इरानमाथि गरेको अवैध सैन्य आक्रमणले क्षेत्रीय शान्ति र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनाएको छ, जसको हामी कडा निन्दा गर्छौ’ कुनै देशको राजनीतिक प्रणाली र भौगोलिक अखण्डतामाथि आक्रमण गर्नु अस्वीकार्य भएको भन्दै विश्व समुदायले यसको विरोध गर्नुपर्ने पनि उनले बताएका छन् ।
यसअघि पनि उत्तर कोरियाले इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणलाई गुण्डागर्दी शैलीको व्यवहार भन्दै आलोचना गरेको थियो । यसैबिच, केसीएनएले उत्तर कोरियाका नेता किम जोङ उनले देशको नयाँ तथा सबैभन्दा ठुलो नौसैनिक विध्वंसक जहाज चोए ह्योनबाट रणनीतिक क्रुज मिसाइल परीक्षणको अनुगमन गरेको पनि जनाएको छ । किमले सो परीक्षणको क्रममा शक्तिशाली र भरपर्दो परमाणु प्रतिरोध क्षमता कायम राख्ने र विस्तार गर्ने रणनीतिक आवश्यकता रहेको बताएका थिए ।
गतहप्ता पनि किमले आफ्ना नौसैनिक बललाई परमाणु हतियारले सुसज्जित बनाउने लक्ष्यबारे चर्चा गरेका थिए । अमेरिकाले लामो समयदेखि उत्तर कोरियाको परमाणु कार्यक्रम अन्त्य गराउन प्रयास गर्दै आएको भए पनि प्योङयाङले भने यसलाई बाह्य आक्रमणबाट जोगिन आवश्यक प्रतिरोधी क्षमता भएको बताउँदै आएको छ ।
हालै अमेरिकी प्रशासनले उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्न तयार रहेको सङ्केत दिएको छ । किम जोङ उनले पनि वासिङ्टनले उत्तर कोरियालाई परमाणु शक्ति भएको देशका रूपमा स्वीकार गरे दुई देशबिच सम्बन्ध सुधार हुनसक्ने बताएका छन् ।


प्रतिक्रिया