इनिसा हत्या प्रकरणमा थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा

इनिसा हत्या प्रकरणमा थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा



काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटना गम्भीर बन्दै गएको छ । नागरिक समाज र अधिकारकर्मीले विकको न्यायको आवाज उठाएपछि प्रहरी अनुसन्धानका लागि थप दबाबमा परेको छ ।

प्रहरीले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सुर्खेत पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान गरेको भए पनि थप अनुसन्धान आवश्यक परेको भन्दै सीआईबी सुर्खेत गएको हो । अनुसन्धानका लागि सीआईबीले प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएको छ । साथै, अनुसन्धानका लागि घटनासँग सम्बन्धित मोबाइलसहितका विभिन्न विद्युतीय सामग्री प्रयोगशालामा पठाइएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ । सुर्खेत प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स र अन्य विद्युतीय प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ ।