विश्व बजारमा तेलको भाउ फेरि १ सय डलर माथि

विश्व बजारमा तेलको भाउ फेरि १ सय डलर माथि



काठमाडौं । हर्मुज मार्गमा इरानको नाकाबन्दी कायम रहँदा विश्व बजारमा कच्चा तेलको भाउ फेरि १ सय डलर माथि पुगेको छ । आज अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १ सय डलर नाघेको हो । यसअघि सोमवार भाउ बढेर अधिकतम १ सय २० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै सकिने घोषणा गरेपछि मङ्गलवार भाउ केही घटेको थियो, तर हिजोदेखि फेरि बढ्न थालेको हो ।

इरानले हर्मुजको सामुद्रिक घाँटीमा नियन्त्रण कायम राखेर त्यहाँबाट कुनै पनि जहाज निस्कन दिएको छैन । यस क्षेत्र हुँदै यात्रा गर्न खोज्ने थाइल्यान्ड र जापानका जहाजसहित ६ वटा जहाज आक्रमणमा परिसकेका छन् । इरानले हर्मुजबाट १ लिटर तेल पनि बाहिर निस्कन नदिने दाबी गरेको छ र ठूलो सङ्ख्यामा ड्रोन तथा युद्ध डुङ्गा परिचालन गरेको छ ।

पश्चिम एशियाका धेरैजसो देशबाट एशियाली क्षेत्रमा हर्मुजको घाँटी हुँदै तेल ओसारिन्छ । विश्व बजारको कुल २० प्रतिशत तेल र ग्यास यही मार्गबाट निस्कने गर्दछ । आज पनि इरान र अमेरिका–इजरायलबीच आक्रमण जारी रहेको छ र पश्चिम एशियाका तेलखानी तथा ऊर्जा पूर्वाधार पनि निशानामा परेका छन् ।

अमेरिका, बेलायत र धेरैजसो पश्चिमा देश सम्मिलित अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले सदस्य राष्ट्रको रणनीतिक भण्डारबाट ४ सय मिलियन ब्यारेल तेल निकालेर बजारमा पठाउने निर्णय गरेको छ, जुन संस्थाको इतिहासकै सबैभन्दा ठूलो भण्डार खोल्ने कदम हो । तर यो निर्णयले पनि भाउमा खासै असर पार्न सकेको छैन ।

विश्लेषकहरूका अनुसार हर्मुज जलसन्धिमाथिको नियन्त्रण इरानकै हातमा रहेसम्म यो सङ्कट छिट्टै समाधान हुने सम्भावना कम छ । अमेरिकाले मङ्गलवार इरानका १६ वटा जहाज ध्वस्त पारेको दाबी गरेको छ, तर त्यसपछि पनि अवस्था सामान्य हुन सकेको छैन । युद्ध लम्बिएमा तेलको भाउ थप बढ्ने र विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरू बताउँछन् ।