अमेरिकासँग वार्ताका लागि चिनियाँ उपप्रधानमन्त्री फ्रान्स जाँदै

अमेरिकासँग वार्ताका लागि चिनियाँ उपप्रधानमन्त्री फ्रान्स जाँदै



बेइजिङ । चीन र अमेरिकाबिच आर्थिक तथा व्यापारिक मुद्दामा उच्चस्तरीय संवाद अघि बढाउने प्रयास स्वरूप चीनका उपप्रधानमन्त्री हे लिफेङ शनिबार फ्रान्सतर्फ प्रस्थान गर्ने भएका छन् । पेरिसमा हुने यस वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने सम्भावित शिखर भेटवार्ताअघि महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ ।

बेइजिङका अनुसार हे लिफेङले मार्च १४ देखि १७ सम्म फ्रान्समा अमेरिकी प्रतिनिधिमण्डलसँग आर्थिक तथा व्यापारिक परामर्शका लागि चिनियाँ टोलीको नेतृत्व गर्नेछन् । चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले शुक्रबार जारी गरेको अनलाइन विज्ञप्तिमा चीन र अमेरिकाबीच भएको सहमति अनुसार उक्त वार्ता आयोजना हुन लागेको उल्लेख गरिएको छ ।

प्रवक्ताका अनुसार वार्तामा दुवै देशका अधिकारीले आपसी चासोका आर्थिक र व्यापारिक विषयमा छलफल गर्ने छन् । तर बैठकको विस्तृत कार्यसूची वा वार्ताको ठोस विषयवस्तुबारे थप विवरण सार्वजनिक गरिएको छैन । यसअघि वासिङ्टनले पनि पेरिसमा हुने उक्त वार्ताको पुष्टि गरेको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तयारी गरेका छन् भने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर पनि टोलीमा सहभागी रहने बताइएको छ ।

ग्रियरले बिहीबार जारी गरेको वक्तव्यमा चीन र अमेरिकाबीचको ‘आर्थिक संवाद’ अघि बढिरहेको बताएका थिए । पेरिसमा हुने यो भेटवार्तालाई यस महिनाको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्पको सम्भावित चीन भ्रमणको पूर्वतयारीका रूपमा पनि हेरिएको छ । वासिङ्टनका अनुसार ट्रम्पले मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ, यद्यपि बेइजिङले आफ्नो नियमित कूटनीतिक अभ्यास अनुसार ती मिति औपचारिक रूपमा पुष्टि गरेको छैन ।

सन् २०२५ को जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि चीन र अमेरिकाबिचको सम्बन्धमा पुनः तनाव बढ्दै गएको छ । व्यापार, औद्योगिक क्षमता र बजार पहुँचका विषयमा दुवै देशबीच मतभेद देखिँदै आएका छन् । यसै सन्दर्भमा अमेरिकी व्यापार प्रतिनिधि ग्रियरले बुधबार चीनसहित प्रमुख व्यापार साझेदारलाई लक्षित गर्दै अतिरिक्त औद्योगिक क्षमता सम्बन्धी नयाँ व्यापार अनुसन्धान सुरु गर्ने घोषणा गरेका थिए ।

चीनको वाणिज्य मन्त्रालयले भने अमेरिकी कदमको कडा आलोचना गरेको छ । मन्त्रालयले यसलाई ‘एक पक्षीयताको स्पष्ट उदाहरण’ भन्दै यस्तो अभ्यासले अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार व्यवस्थालाई गम्भीर रूपमा कमजोर पार्ने जनाएको छ । शुक्रबार जारी अर्को विज्ञप्तिमा चीनले अमेरिकालाई आफ्ना ‘गलत अभ्यास सुधार गर्न’ आग्रह गरेको छ । यस्तो तनावका बिच पेरिसमा हुने आगामी वार्ताले दुई ठूला अर्थतन्त्रबिचको आर्थिक सम्बन्धलाई कता मोड्ने भन्नेबारे कूटनीतिक चासो बढाएको छ ।