ऊर्जा आपूर्ति संकट न्यून गर्न अमेरिकाको पहल

ऊर्जा आपूर्ति संकट न्यून गर्न अमेरिकाको पहल



काठमाडौं । अमेरिकाको ऊर्जा सचिव क्रिस राइटले दक्षिण क्यालिफोर्नियामा अवस्थित तेल कम्पनीलाई सञ्चालन गर्न निर्देशन दिएका छन् । यस कदमले तेल आपूर्तिमा सम्भावित अवरोधलाई न्यून गर्ने र राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

निर्देशअनुसार, सान्टा बार्बरानजिकको सान्टा यनेज एकाइ र पाइपलाइन पुनः सञ्चालनमा ल्याइनेछ । यस एकाइमा तीन ड्रिलिङ प्लेटफर्म, जल तथा स्थलीय पाइपलाइन र प्रशोधन सुविधा समावेश छन् ।

उक्त सुविधा दैनिक करिब ५० हजार ब्यारेल तेल उत्पादन गर्न सक्षम छ । र, यसले मासिक रूपमा करिब १५ लाख ब्यारेल विदेशी कच्चा तेल प्रतिस्थापन गर्न मद्दत गर्नेछ ।

सचिव राइटले भनेका छन्, “अमेरिकाको प्रशासन सबै अमेरिकी नागरिक र राष्ट्रिय ऊर्जा सुरक्षालाई प्राथमिकता दिन दृढ छ । यो निर्देशनले पश्चिमी तटका सैन्य प्रतिष्ठानहरूमा आवश्यक ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ ।”

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन पूर्वराष्ट्रपति जो बाइडेनले लागु गरेका तेल उत्खननमा रोकसम्बन्धी आदेश उल्टाएका थिए ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले यस निर्णयप्रति चिन्ता व्यक्त गर्दै भने, “हामी हाम्रो तटीय समुदाय, वातावरण र स्थानीय अर्थतन्त्रको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध छौँ । राज्यले यस विषयमा आवश्यक कदम चाल्नेछ ।”

जनवरीमा क्यालिफोर्नियाले संघीय सरकारले अनुमोदन गरेको पाइपलाइन पुनः सञ्चालन योजनासम्बन्धी मुद्दा दायर गर्दै आफ्नो नियामक अधिकार सुनिश्चित गरेको थियो ।