तेहरान । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्रहरू तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।
अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कच्चा तेलको मूल्य सोमबार करिब १०० डलर आसपास पुगेको देखिएको छ । इजरायलले इरानभित्र अझै पनि ‘हजारौँ लक्ष्य’ रहेको दाबी गर्दै दैनिक रूपमा नयाँ लक्ष्य पहिचान गरिरहेको जनाएको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँग वार्तामा रहेको भए पनि तेहरान तत्काल युद्ध अन्त्य गर्ने सहमतिमा पुग्ने अवस्थामा नदेखिएको बताए । “मलाई लाग्दैन उनीहरू अहिले तयार छन्, तर उनीहरू निकै नजिक आइपुगेका छन्”, उनले भने । यसअघि इरानका विदेशमन्त्रीले भने वासिङ्टनसँग कुनै पनि प्रकारको वार्ता अस्वीकार गरिएको बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतजस्ता देशहरूलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूको सुरक्षाका लागि नौसैनिक जहाज पठाउन आग्रह गरेका छन् । फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनले स्ट्रेट अफ होर्मुजबाट लाभ लिने देशहरूले त्यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सहयोग गर्नु उचित हुने बताए । संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपेली देशहरू र चीन खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहेका छन् ।
बेइजिङले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनका प्रयासमा सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यस महिनाको अन्त्यमा हुने तय गरिएको शिखर सम्मेलन स्थगित हुन सक्ने चेतावनी पनि ट्रम्पले दिएका छन् । उनले आफ्नो आग्रह अस्वीकार भएमा त्यसले नाटोको भविष्यका लागि पनि नकारात्मक प्रभाव पार्न सक्ने बताए । तर जापान र अस्ट्रेलियाले भने अहिलेका लागि सैनिक तैनाथ गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।
यसैबिच इरानले अन्य देशहरूलाई मध्यपूर्वमा फैलिएको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुन चेतावनी दिएको छ । फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटसँगको टेलिफोन संवादमा इरानका विदेशमन्त्री अब्बास अराघचीले द्वन्द्वलाई थप विस्तार गर्ने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेका थिए । उनले क्षेत्रीय सुरक्षाका नाममा अमेरिकी सैन्य उपस्थितिले समस्या समाधान गर्नुको सट्टा तनाव बढाइरहेको आरोप लगाउनुभयो र छिमेकी देशहरूलाई ‘विदेशी आक्रमणकारीलाई बाहिर निकाल्न’ आह्वान गरे ।
युद्धसँगै इरानले अमेरिकी सेना रहेको मध्यपूर्वका विभिन्न स्थानमा आक्रमण तीव्र बनाएको छ । इटालीको सेनाले कुवेतस्थित अली अल सलेम एयरबेसमा भएको ड्रोन आक्रमणमा इटालीको मानवरहित विमान नष्ट भएको तर मानवीय क्षति नभएको जनाएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले घटनालाई कम महत्त्व दिँदै आफ्नो देश कसैसँग युद्धमा नरहेको स्पष्ट पारे ।
इराकी अधिकारीहरूका अनुसार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी कूटनीतिक सुविधा नजिकै रकेट प्रहार हुँदा पाँच जना घाइते भएका छन् । उता इरानको रिभोलुसनरी गार्ड्सले हालसम्म अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूतर्फ करिब ७०० मिसाइल र तीन हजार ६०० ड्रोन प्रहार गरिएको दाबी गरेको छ ।
साउदी अरेबियाले पनि सोमबार मध्यरातयता ६० भन्दा बढी ड्रोन रोकेको जनाएको छ । दुबई विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि आगलागी हुँदा केही समयका लागि उडान स्थगित गर्नुपरेको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने इराकको कुर्दिस्तान क्षेत्रमा इरानी डिजाइनको ड्रोन आक्रमणमा फ्रान्सेली सैनिक मारिएपछि फ्रान्सका हितमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएका छन् ।
यसबिच द्वन्द्व लेबनानसम्म फैलिएको देखिएको छ । इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ ।
ऊर्जा बजारमा भने आपूर्ति सङ्कट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउन सुरु गर्ने निर्णय गरेको जनाएको छ । एसिया–ओसिनिया क्षेत्रका देशहरूले तत्काल भण्डार उपलब्ध गराउनेछन् भने युरोप र अमेरिकाले आगामी हप्तामा त्यसलाई पछ्याउने अपेक्षा गरिएको छ ।
मध्यपूर्वबाट आउने तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले आफ्नो सरकारी राजपत्रमार्फत देशको तेल भण्डार स्तर घट्दै गएको सूचना जारी गरेको छ । यस कदमले भण्डार व्यवस्थापकहरूलाई केही तेल बजारमा छोड्न बाध्य पार्नेछ ।
स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्वका विभिन्न देशमा त्यसको प्रभाव देखिन थालेको छ । अस्ट्रेलियाका अधिकारीहरूले मूल्य वृद्धि र हडबडाहटमा किनमेल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । भारतमा भने आयात अवरोधका कारण रेस्टुरेन्टहरूले खाना पकाउने ग्यास बचत गर्न मेनु परिवर्तन गर्न थालेका छन् ।
सिड्नी नजिकै बस्ने ल्यान्डस्केपर एम्मा फुटर्लेबले इन्धन महँगिएपछि आफ्नो बजेटमा दबाब परेको बताउनुभयो । “यसले हाम्रो खर्चमा सीधा असर गरेको छ”, उनले भने ।
उता तेहरानमा भने युद्ध सुरु भएको केही दिनपछि जीवन क्रमशः सामान्य बन्न थालेको देखिएको छ । गत हप्ताको तुलनामा सहरमा यातायात चहलपहल बढेको छ र केही क्याफे तथा रेस्टुरेन्ट पुनः सञ्चालनमा आएका छन् । फारसी नयाँ वर्ष नौरुज नजिकिँदै गर्दा लोकप्रिय ताजरिश बजारका धेरै स्टलहरू खुल्न थालेका छन् । नगद निकाल्न एटीएमहरूमा लामो लाइन देखिएको छ भने देशकै ठूलो बैंक मेलीको अनलाइन सेवा केही दिनदेखि अवरुद्ध भएको जनाइएको छ ।
राजधानी बाहिरका क्षेत्रहरूमा पनि समान अवस्था देखिएको छ । क्यास्पियन सागर किनारको मजन्दरान प्रान्तस्थित टोनेकाबोन सहरका ४९ वर्षीय अलीले पसलहरू खुला र भीडभाड रहेको बताउनुभयो । यद्यपि मूल्य बढेको अनुभव भइरहेको उनको भनाइ छ । उनका अनुसार मुख्य चोक भने हरेक रात बन्द गरिन्छ र सरकारी प्रदर्शनहरू आयोजना भइरहेका छन् । बाह्य इन्टरनेट सेवा बन्द भएकाले देशभित्रको इन्ट्रानेट मात्रै चलिरहेको बताइएको छ ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणबाट हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि यो तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले इरानभित्र करिब ३२ लाख मानिस विस्थापित भएको जनाएको छ ।


प्रतिक्रिया