बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा संक्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई खोप लगाइएको हो ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा दादुरा संक्रमित फेला परेपछि खोप अभियान सुरु गरिएको हो । फागुन २९ गतेदेखि यही चैत १ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।
छुटेकालाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी र्दिए ।
संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य कार्यालयको समूह ढोरपाटनमा खटिएको उनको भनाइ छ । हालसम्म सातजनामा संक्रमण पुष्टि भइसकेको जनाउँदै उनले १०३ जना शंकास्पद बिरामी रहेका बताए ।
एक्काइसजनाको नमुना परीक्षणका राष्ट्रिय स्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको घिमिरेले जानकारी दिए । उनका अनुसार बुर्तिबाङ अस्पतालमा २४ जना र बोबाङ स्वास्थ्यचौकीमा छ उपचाररत रहेका छन् ।
छुटेका बालबालिका र किशोरकिशोरीलाई पुनःविद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने घिमिरेले बताए ।
उनले भने, “ढोरपाटनका नौवटै वडाका अधिकांश बालबालिका र किशोरकिशोरीलाई खोप लगाइसकेका छौँ, अब बाँकी छुटपुटलाई पनि स्वास्थ्य संस्था र बुर्तिबाङ अस्पतालबाट दिइनेछ । खोप लगाएपछि संक्रमण नियन्त्रणमा आउने अपेक्षा लिएका छौँ ।”
गाउँभरि दादुरा संक्रमण फैलिएपछि बन्द भएका विद्यालय सञ्चालनमा आएका छन् । संक्रमण कम हुन थालेपछि करिब दुई सातापछि विद्यालय सञ्चालन गरिएको हो । यस क्षेत्रका करिब आधा दर्जन विद्यालय बन्द गरिएको थियो ।
दादुरा संक्रमितको उपचार र गाउँका अन्य बालबालिकालाई खोप लगाएपछि विद्यालय सञ्चालन गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य प्रमुख भूमिश्वार शर्माले जानकारी दिए ।
गत फागुन २१ गते बोबाङ गाउँका केही बालबालिकामा लक्षण देखिएपछि राष्ट्रिय प्रयोगशालामा नमुना परीक्षणका लागि पठाइएको थियो ।


प्रतिक्रिया