काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण यही मार्चको अन्त्यमा हुने भनिएको चीन भ्रमण झन्डै एक महिनापछि सार्ने योजना बनाएको बताएका छन् ।
युद्धको निरीक्षण गर्न आफू उपलब्ध रहनु महत्त्वपूर्ण रहेको भन्दै ट्रम्पले चीन भ्रमण एक महिना वा त्योभन्दा धेरै ढिलाइ गर्न अनुरोध गरेको ह्वाइट हाउसमा पत्रकारसँगे भनेको बीबीसीले जनाएको छ ।
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता मार्च ३१ देखि अप्रिल २ सम्म हुने तय भएको छ । गएको वर्षको अक्टोबरपछि यो भेटवार्ता हुने भएको हो ।
चिनियाँ विदेश मामिला प्रवक्ता लिन जियानले अमेरिकी राष्ट्रपतिको चीन भ्रमणको समय र सम्बन्धित विषयहरूबारे दुई देशले कुराकानी गरिरहेका बताएका छन् ।
यसैबीच ट्रम्पको भ्रमणमा ढिलाइ हुनु र खाडीबाट विश्वव्यापी ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुलाउने मुद्दाबीच कुनै सम्बन्ध नरहेको बताएको छ ।
अस्ति आइतवार ट्रम्पले चीनले हर्मुज मार्ग खोल्न मद्दत नगरे आफूले भ्रमण स्थगित गर्न सक्ने बैलायती दैनिक पत्रिका ‘फाइनान्सियल टाइम्स’ सँग भनेका थिए । तर हिजो उनले इरान युद्ध व्यवस्थापन गर्न आफू त्यहाँ रहेको सुनिश्चित गर्न मात्र भ्रमणमा ढिलाइको प्रस्ताव गरेको बताएका छन् ।


प्रतिक्रिया