मध्यपूर्वमा चर्केकाे तनावकाे असर विश्वभर फैलिने सङ्केत

मध्यपूर्वमा चर्केकाे तनावकाे असर विश्वभर फैलिने सङ्केत



काठमाडौं । मध्यपूर्वमा चलिरहेको युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली सेनाले आज दक्षिणी लेबनानका चार शहरका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान आग्रह गर्दै इरान समर्थित लडाकु समूह हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण हुने चेतावनी दिएको छ ।

यसअघि नै निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट प्रहारको जवाफ स्वरूप लेबनानमा हिजबुल्लाहका लक्ष्यमा निरन्तर आक्रमण गरिरहेको जनाएको छ ।

यस्तै इरानले युद्धको असर विश्वव्यापी हुने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विश्वव्यापी प्रतिक्रिया शुरू भइसकेको र यसले सबै वर्गलाई असर गर्ने बताउनुभएको छ । यस्तै अमेरिकी राष्ट्रिय आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जोसेफ केन्टले इरानविरुद्धको युद्धलाई समर्थन गर्न नसक्ने भन्दै आफ्नो पद त्यागेको घोषणा गरेका छन् ।

इरानी सैन्य नेतृत्वले पनि कडा प्रतिक्रिया जनाउँदै सुरक्षा प्रमुख अली लारिजानीको हत्याको ‘निर्णायक र खेदजनक बदला’ लिने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गाड्र्सले मध्य इजरायलमा मिसाइल प्रहार गरेको दाबी गर्दै लारिजानीसहित मारिएकाहरूको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ । प्यालेस्टिनी लडाकु समूह हमासले पनि इरानप्रति ऐक्यबद्धता जनाउँदै यो द्वन्द्वले सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थिरता जोखिममा पार्ने उल्लेख गरेको छ ।

खाडी क्षेत्रमा पनि सुरक्षा चुनौती तीव्र बनेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अस्ट्रेलियाली सैन्य मुख्यालय नजिक इरानी प्रक्षेप्य खसेको विवरण सार्वजनिक भएको छ । साउदी अरेबियाले प्रिन्स सुल्तान एअर बेस नजिक ब्यालेस्टिक मिसाइल रोकेको र ८ वटा ड्रोन निष्क्रिय पारेको जनाएको छ । कुवेत र कतारले पनि रकेट तथा ड्रोन आक्रमणहरू विफल पारेका छन् ।

यसैबीच अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग नजिक नजिक इरानी क्षेप्यास्त्र केन्द्रहरूमा शक्तिशाली ‘बङ्कर बस्टर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ ।

युद्धका कारण इजरायलतर्फ पनि क्षति बढ्दो छ । तेल अभिभ नजिक इरानी मिसाइल आक्रमणमा थप दुई जनाको ज्यान गएको छ । यस्तै इराकको बगदादमा रहेको अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण हुँदा परिसरभित्र आगलागी भएको छ ।

युद्धले अन्तर्राष्ट्रिय आयाम लिँदै जाँदा युक्रेनले पनि आफ्नो भूमिका देखाएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार इरानद्वारा डिजाइन गरिएका ड्रोनविरुद्ध सहयोग गर्न २०० भन्दा धेरै युक्रेनी विशेषज्ञहरू मध्यपूर्वका विभिन्न देशमा परिचालन गरिएका छन् ।

युद्धलाई लिएर अन्तर्राष्ट्रिय राजनीतिक मतभेद पनि सतहमा आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज मार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग नगरेको भन्दै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र बेलायतको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरप्रति निराशा व्यक्त गर्दै उहाँले सहयोगको आवश्यकता नरहेकोसमेत उल्लेख गरेका छन् ।

यसैबीच लेबनानमा मानवीय क्षति बढिरहेको छ । दक्षिणी क्षेत्रमा इजरायली आक्रमणमा तीन जना सैनिक मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि शुरू भएको द्वन्द्वमा ज्यान गुमाउनकेोसङ्ख्या ९१२ पुगेको छ । समग्रमा घटनाक्रमहरूले युद्धको दायरा फराकिलो हुँदै गएको र यसको प्रभाव विश्वव्यापी बन्ने सङ्केत देखिएको छ ।