मध्यपूर्वका ऊर्जा संरचनामा इरानी आक्रमणपछि तेलको मूल्य प्रतिब्यारेल ११९ डलरभन्दा माथि पुग्यो

मध्यपूर्वका ऊर्जा संरचनामा इरानी आक्रमणपछि तेलको मूल्य प्रतिब्यारेल ११९ डलरभन्दा माथि पुग्यो



काठमाडौं । इरानले मध्यपूर्वभरिका ऊर्जा संरचनाहरूमा आक्रमण गरेपछि आज अन्तर्राष्ट्रिय ब्रेन्चमार्क ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ११९ अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

इजरायलले आफ्नो साउथ पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले मध्यपूर्वभरिका ऊर्जा संरचनाहरूमा आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

इरानी आक्रमणपछि ब्रेन्ट क्रुडको मूल्य आज १० डलरले बढेर प्रतिब्यारेल ११९ दशमलव १३ डलरसम्म पुगेको छ । गएको मार्च ९ मा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो । यो मूल्य साढे तीन वर्षको उच्चतम विन्दु हो ।

साउथ पार्स विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार रहेको क्षेत्र हो । साउथ पार्समा आक्रमणलगत्तै इरानले कतार, साउदी अरेबिया र कुवेतका ऊर्जा संरचनाहरूमा क्षेप्यास्त्र प्रहार गरेको हो ।

यसैबीच ऊर्जा संरचनाहरू लक्षित आक्रमण बढेसँगै मध्यपूर्वमा चलिरहेको युद्ध गम्भीर मोडमा पुगेको अर्काे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसले विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता थपेको छ ।

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा शुरू भएको युद्ध अब ऊर्जा युद्धका रूपमा परिणत हुन थालेको छ । एशियाली देशहरू यस सङ्कटबाट सबैभन्दा धेरै प्रभावित छन् । एशियाको ८० प्रतिशत तेल आयात होर्मुज जलमार्ग हुँदै ढुवानी हुने गर्छ ।

यो सङ्कटले विश्व आर्थिक वृद्धि घटाउनुका साथै मुद्रास्फीति थप बढाउने खतरा छ ।