काठमाडौं । अमेरिका र इजरायली हमलापछि बन्द अवस्थामा रहेको स्ट्रेट अफ होर्मुजबाट सुरक्षित यात्रा अनुमतिका लागि इरानले एक निजी तेल ट्यांकर कम्पनीसँग २० लाख डलर अर्थात् करिब २८ करोड ८० लाख रुपैयाँ लिएको खुलेको छ ।
यद्यपि, यो जहाज कम्पनी कुन देशको हो भन्ने जानकारी बाहिर सार्वजनिक गरिएको छैन ।
लोयड्स लिस्टको रिपोर्टअनुसार इरानले आफ्नो समुद्री क्षेत्रमा एक सुरक्षित बाटो बनाएको छ, जहाँबाट केवल यात्रा अनुमति पाएका जहाजले मात्रै यात्रा गर्न पाउनेछन् । यसरी यात्रा गर्ने जहाजले इरानलाई कर तिर्नुपर्नेछ । रिपोर्टअनुसार भारत, पाकिस्तान, इराक, मलेसिया र चीनजस्ता केही देशले आफ्नो देशका जहाजको सुरक्षित यात्राका लागि इरानसँग सिधा वार्ता गरिरहेका छन् ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले यस्ता जहाजका लागि विशेष दर्ता प्रणाली पनि सुरु गरेको छ । यसरी दर्ता भएका जहाजलाई इरानले आफ्नो क्षेत्रमा सुरक्षा दिनेछ । भारतले पनि आफ्ना जहाजको सुरक्षित आवागमनका लागि वार्ता गरिरहेको छ । तर, इरानमाथि हमला हुनुभन्दा ठीकअघि प्रधानमन्त्री नरेन्द्र मोदीको इजरायल भ्रमण तथा अमेरिकी–इजरायली हमलाप्रति भारतको मौनताका कारण इरान र भारतबीचको सम्बन्धमा चिसोपना देखिएको छ ।
भारतका होर्मुज क्षेत्रमा २२ वटा जहाज फसेका छन् । लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार भारतको एक ग्यास ट्यांकर इरानको लारक द्विप आसपासहुँदै यात्राको कोसिसमा छ । रिपोर्टअनुसार अहिलेसम्म सबै देशका गरेर कुल नौवटा जहाज इरानी कोरिडोर हुँदै बाहिरिएका छन् ।


प्रतिक्रिया