काठमाडौं । युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा यूएईमा अहिलेसम्म एकसय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।
मध्यपूर्व युद्धको समयमा भिडियो खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा उनीहलाई पक्राउ गरिएको यूएईको अबुधाबी प्रहरीले जनाएको छ । इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा चर्किएको युद्धबारे यूएईसहित खाडीका देशहरूले आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका छन् । यूएईले यसअघि सूचनामार्फत् नै आक्रमणसँग सम्बन्धित फुटेज वा सामग्री सार्वजनिक नगर्न अनुरोध गरेको थियो ।
अबुधाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिलाई पक्राउ गरेको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । यस्ता कार्यहरूले भड्काउ र अफवाह फैलने भन्दै गलत पोष्ट नगर्न सूचित गरिएको छ ।
कतारमा अधिकारीहरूले पनि युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको जनाएका छन् । बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् ।
अमेरिका–इजरायलबाट भएको आक्रमणको जवाफमा इरानले गरेको अमेरिकी सैन्य अखडालक्षित प्रतिआक्रमणबाट विशेषगरी खाडीका क्षेत्र प्रभावित बनेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँग युद्ध अन्त्य गर्ने विचार गरिरहेको, तर अन्य देशहरूले होर्मुज मार्गको सुरक्षा गर्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ ।


प्रतिक्रिया