काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्ले अमेरिकी रक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी गराएका हुन् ।
उनले इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने विषयमा भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र उपलब्धिमूलक भएको दाबी गरेका छन् । वितेका दुई दिनदेखि चलिरहेको छलफलपछि ट्रम्पले मध्यपूर्वमा चलिरहेको युद्ध र तनावको पूर्ण समाधानका लागि धेरै राम्रो कुराकानी भएको बताएका छन् ।
ट्रम्पले आक्रमण रोक्ने निर्णय वार्तालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि लिइएको बताएका छन् । इरान र अमेरिकाबीचको यो पछिल्लो संवादले मध्यपूर्वमा वर्षाैंदेखि चल्दै आएको सैन्य तनाव मत्थर हुने अपेक्षा गरिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा विशेष सम्बोधन गर्दै मध्यपूर्वको तनाव तत्काल अन्त्य गर्न र संवाद–कूटनीतिबाट समाधान खोज्न आह्वान गरेका छन् । नागरिक बस्ती तथा पावर प्लान्टमाथिको आक्रमण र स्ट्रेट अफ होर्मुजमा अवरोध अस्वीकार्य रहेको उनको भनाइ छ ।
ऊर्जा सुरक्षाका लागि पेट्रोलियम आयात स्रोत २७ देशबाट बढाएर ४१ देश पुर्याइएको र रणनीतिक भण्डार ६५ लाख मेट्रिक टन पुर्याउने काम भइरहेको उनले जानकारी दिए । युद्धग्रस्त क्षेत्रबाट ३ लाख ७५ हजार भारतीय स्वदेश फर्किसकेका छन् । मध्यपूर्वमा तनाव शुरू भएपछि मोदीले पहिलोपल्ट सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।


प्रतिक्रिया