तेहरान । अमेरिका र इरानबिच सम्भावित वार्ताका सङ्केत देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ । यो आक्रमणले कूटनीतिक पहलसँगै सैन्य तनाव पनि समानान्तर रूपमा जारी रहेको स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग संवाद अघि बढिरहेको सङ्केत दिएका छन् । उनले वासिङ्टनमा पत्रकारसँग कुरा गर्दै अमेरिका अहिले इरानसँग ‘वार्तामा रहेको’ उल्लेख गरे । यद्यपि इरानी पक्षले औपचारिक रूपमा त्यस्तो कुनै वार्ताको पुष्टि गरेको छैन । ट्रम्पले इरानले हालै चालेको कदमलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गर्दै ‘उनीहरूले हामीलाई ठूलो मूल्यको उपहार दिएका छन्’ भने ।
उनले यसबारे थप खुलाउनु भएन, तर उक्त अभिव्यक्ति स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित रहेको सङ्केत गरे । विश्वको झण्डै पाँचौँ भाग कच्चा तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज हालै इरानले अमेरिका र इजरायलका आक्रमणको प्रतिक्रिया स्वरूप अवरुद्ध गरेको थियो । तर अहिले तेहरानले अन्तर्राष्ट्रिय समुद्री सङ्गठनमार्फत सन्देश जारी गर्दै ‘गैर-शत्रुतापूर्ण जहाज’लाई सुरक्षित मार्ग दिने जनाएको छ ।
यस कदमले विश्व बजारमा केही सहजता ल्याएको छ र कच्चा तेलको मूल्य छ प्रतिशतभन्दा बढीले घटेको देखिएको छ । अमेरिकी सञ्चार माध्यम न्युयोर्क टाइम्सका अनुसार वासिङ्टनले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे शान्ति योजना पठाएको छ । योजनामा युद्ध अन्त्य गर्ने प्रयास स्वरूप मध्यस्थताको प्रस्ताव समावेश गरिएको छ । तर यस योजनाबारे इजरायल अवगत थियो वा प्रत्यक्ष रूपमा संलग्न थियो भन्ने स्पष्ट भइसकेको छैन ।
यसबिच ट्रम्पले पुनः दोहोर्याउँदै इरानले ‘कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नपाउने’ विषयलाई सम्भावित सम्झौताको मुख्य आधारका रूपमा प्रस्तुत गर्नु भएको छ । सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि उत्पन्न अविश्वासबिच नयाँ सहमतिको प्रयास भइरहेको देखिन्छ । यद्यपि कूटनीतिक पहल अघि बढिरहेको भनिए पनि सैन्य गतिविधि भने तीव्र नै छ ।
द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले मध्यपूर्वमा थप तीन हजार सैनिक पठाउने योजना बनाएको छ, जसले तनाव अझै बढ्न सक्ने सङ्केत दिएको छ । इरानको रिभोलुसनरी गाड्र्सले बुधबार इजरायलतर्फ मिसाइलको नयाँ लहर प्रहार गरेको जनाएको छ । साथै कुवेत, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डालाई पनि लक्ष्य बनाइएको बताइएको छ । इरानले यी आक्रमणलाई अमेरिका र इजरायलका कारबाहीको जवाफका रूपमा व्याख्या गरेको छ ।
कुवेतमा ड्रोन आक्रमणपछि इन्धन ट्याङ्कीमा आगलागी भएको छ, यद्यपि नागरिक उड्डयन प्राधिकरणले क्षति सीमित रहेको जनाएको छ । बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको थियो भने जोर्डनको राजधानी अम्मान नजिक छर्रा खसेको रिपोर्ट गरिएको छ, जसबाट कुनै क्षति नभएको बताइएको छ । साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा चारवटा ड्रोन खसालेको जनाएको छ ।
उता, इजरायलले इरानबाट नयाँ मिसाइल प्रहार भएपछि ‘इरानी पूर्वाधार’ माथि थप आक्रमण सुरु गरेको जनाएको छ । इरानले भने इजरायलले बुसेहरस्थित नागरिक आणविक केन्द्रमा दोस्रो पटक आक्रमण गरेको आरोप लगाएको छ, जुन ऊर्जा संरचनाका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ ।
युद्ध अन्त्य हुन सक्ने सङ्केतसँगै विश्व बजारमा सकारात्मक प्रभाव देखिएको छ, तर क्षेत्रीय सुरक्षा अवस्था अझै अस्थिर नै छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि इरानलाई वार्तामा ‘इमानदारीपूर्वक संलग्न हुन’ आग्रह गरेका छन् । उनले आफ्ना इरानी समकक्षीसँगको कुराकानीपछि कूटनीतिक समाधानको आवश्यकता औँल्याएका हुन् ।


प्रतिक्रिया