टोकियो । टोकियोस्थित चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध रूपमा प्रवेश गरेको घटनाले जापान र चीनबिचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ । जापानले उक्त घटनालाई ‘खेदजनक’ भन्दै अनुसन्धान सुरु गरेको जानकारी दिएको छ भने बेइजिङले कडा विरोध जनाएको छ ।
जापान सरकारका शीर्ष प्रवक्ता मिनोरु किहाराले पत्रकार सम्मेलनमा भने, “कानूनको पालना गर्नुपर्ने जिम्मेवारी बोकेको आत्मरक्षा बलकै एक सदस्य दूतावास परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ पर्नु अत्यन्तै दुर्भाग्यपूर्ण घटना हो ।”
उनका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ र दूतावासको सुरक्षालाई थप सुदृढ बनाउने कदम पनि चालिएको छ । यस्ता घटना दोहोरिन नदिन आवश्यक सबै उपाय अपनाइने उनले स्पष्ट पारे ।
प्रहरीका अनुसार २३ वर्षीय कोडाई मुराता नामक संदिग्धलाई मङ्गलबार बिहान करिब ९ः०० बजे दूतावास परिसरमा प्रवेश गरेपछि अतिक्रमणको आशङ्कामा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनले दूतावासका राजदूतलाई भेटेर कट्टर टिप्पणी नगर्न आग्रह गर्ने योजना बनाएको बताएका छन् । यदि उक्त आग्रह अस्वीकृत भए आत्महत्या गरेर ध्यानाकर्षण गराउने सोच बनाएको पनि उनले बयान दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार घटनास्थलबाट एक छुरी पनि बरामद गरिएको थियो, जसले सुरक्षा चासोलाई थप गम्भीर बनाएको छ । यस घटनाप्रति प्रतिक्रिया जनाउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङ ‘गहिरो स्तब्ध’ भएको बताए । उनले जापानसमक्ष औपचारिक रूपमा कडा विरोध दर्ता गरिएको र यस्ता घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको जानकारी दिए ।
उक्त घटनाले पहिले नै संवेदनशील अवस्थामा रहेको दुई देशबिचको सम्बन्धलाई थप जटिल बनाएको छ । गत नोभेम्बरमा जापानका प्रधानमन्त्री साने ताकाइचीले ताइवान सम्बन्धी विकसित हुन सक्ने परिस्थितिमा जापानले पनि केही भूमिका खेल्न सक्ने सङ्केत गर्नु भएको थियो । त्यसपछि टोकियो र बेइजिङबिचको कूटनीतिक सम्बन्धमा केही चिसोपना देखिएको छ ।
उता, चीनले ताइवानलाई आफ्नो अभिन्न भूभागका रूपमा हेर्दै आएको छ र आवश्यक परे विभिन्न विकल्प खुला राखेको बताउँदै आएको छ, जसका कारण क्षेत्रीय सुरक्षाबारे चासो भने निरन्तर व्यक्त हुँदै आएको छ ।


प्रतिक्रिया