काठमाडौं । इरानमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्यका विषयमा पाकिस्तानको राजधानी इस्लामावादमा चार देशका नेताहरुको बैठक सुरु भएको छ । यो बैठकमा पाकिस्तानसहित साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्री सहभागी छन् । पाकिस्तानले यो बैठकको आयोजना गरेको हो ।
इजिप्टका विदेशमन्त्री बद्र अब्देलत्तीले पाकिस्तानी विदेशमन्त्री इशाक डारसँग अलग्गै कुराकानी गरेका छन् । योसँगै डारले टर्कीका विदेशमन्त्री हाकान फिदान र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहासँग पनि अलग अलग छलफल गर्नेछन् ।
यो बैठकसँगै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग समेत कुराकानी हुनेछ । पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थताको भूमिका निभाउने कोसिस गरिरहेको छ । उसले नै इरानलाई अमेरिकाले पठाएका १५ बुँदे वार्ता प्रस्ताव समेत पठाएको थियो ।
यसमा इरानको परमाणु कार्यक्रमलाई पूर्ण रूपमा बन्द गर्नुपर्ने, मिसाइल कार्यक्रम घटाउनुपर्ने, क्षेत्रीय प्रोक्सी समूहलाई दिँदै आएको समर्थन रोक्नुपर्नेजस्ता शर्त थिए । जुन शर्त इरानले अस्वीकार गरेको छ ।
एकातिर वार्ताका कोसिस भइरहँदा अर्कोतिर अमेरिकाले पश्चिम एसियाली देशमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकी वारसिप यूएसएस त्रिपोलीबाट करिब ३५ सय सैनिक यो क्षेत्रमा पुगेका छन् ।


प्रतिक्रिया