काठमाडौं । इरान समर्थित यमनको हुथी समूहले रेड सीको दक्षिणी प्रवेशद्वारमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएको छ । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेको एक महिनामा हिजोदेखि इरानको पक्षबाट युद्धमा समेटिएको हुथीले रेड सीमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएको बीबीसीले जनाएको छ ।
दुई वर्षअघि पनि हुथीले रेड सीको जलमार्गमा ढुवानी प्रभावित पार्ने धम्की दिएपछि युरोप र अमेरिका जाने धेरैजसो पानीजहाजहरू अफ्रिकाको वरिपरि भएर यात्रा गर्न बाध्य भएका थिए ।
इरानले हर्मुज जलमार्गमा गरेको अवरोधका कारण विश्वव्यापी रूपमा इन्धनको अभाव तथा मूल्यवृद्धि भइसकेका बेला रेड सीमा तनाव उत्पन्न भएमा अवस्था अझ जटिल बन्ने सम्भावना छ ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले भने इरानले आफ्नो देशलाई मध्यपूर्वको द्वन्द्वमा जबरजस्ती तान्ने प्रयास गरेको भन्दै निन्दा गरेको छ ।
यसैबीच इरानले खाडी देशहरूमा रहेका निशानाहरूमा क्षेप्यास्त्र तथा ड्रोनहरू प्रहार गर्ने काम जारी राखेको छ । कतार, कुवेत र यूएईमा गएराति पनि आक्रमण भएको छ ।
यस्तै अमेरिकाले इरानमा हप्तौँ चल्ने गरी स्थल कारबाहीको तयारी गरिरहेको अमेरिकी पत्रिका वाशिङ्गटन पोस्टले जनाएको छ । तर त्यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गर्नुभएको छैन ।
झन्डै साढे तीन हजार अमेरिकी सैनिक आफ्नो युद्धपोत यूएसएस त्रिपोली लिएर एशिया क्षेत्रमा आइपुगेको बीबीसीले जनाएको छ ।
यसैबीच पाकिस्तानका विदेशमन्त्री इशाक दारले मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले टर्की, इजिप्ट र साउदी अरेबियाका आफ्ना समकक्षीहरूसँग छलफल गर्दै हुनुहुन्छ । बीबीसीकाअनुसार इरान र अमेरिका दुवैको नजिक रहेको पाकिस्तानमा देशमा कुनै पनि अमेरिकी सैन्य अड्डाहरू नरहेकाले मध्यपूर्व सङ्कटमा मध्यस्थता गर्न ऊ राम्रो स्थितिमा रहेको छ ।


प्रतिक्रिया