अल-कुसायर । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति मिसन (यूनिफिल) को पोस्टमा बम विस्फोट हुँदा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।
दक्षिणी लेबनानी गाउँ अदचित अल-कुसायर नजिकै रहेको सैन्य पोस्टमा मार्च २९ का दिन भएको उक्त विस्फोटमा अर्का एक सैनिक गम्भीर घाइते भएका छन् । यूनिफिलले सोमबार बिहान विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो ।
विस्फोट भएको वस्तु (प्रोजेक्टाइल) कहाँबाट र कसले प्रहार गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । राष्ट्रसंघीय मिसनले घटनाको सत्यतथ्य पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । इजरायल र इरान समर्थित हिजबुल्लाह लडाकुहरूबिच जारी भिडन्तको केन्द्र मानिने दक्षिणी लेबनानको सीमा क्षेत्रमा यूनिफिलले निगरानी गर्दै आएको छ ।
पछिल्लो दुई वर्षयता इजरायल र हिजबुल्लाहको दोहोरो चपेटामा शान्ति सैनिकहरू पटक–पटक पर्ने गरेका छन् । यसअघि मार्च ६ मा पनि घानाका शान्ति सैनिकहरू बसेको मुख्यालयमा मिसाइल प्रहार हुँदा दुई सैनिक गम्भीर घाइते भएका थिए ।


प्रतिक्रिया