स्ट्रेट अफ हर्मुजमा प्रस्तावमा मतदान गर्दैछ यूएन

स्ट्रेट अफ हर्मुजमा प्रस्तावमा मतदान गर्दैछ यूएन



न्यूयोर्क । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले स्ट्रेट अफ हर्मुजको विषयमा एउटा प्रस्तावमा मतदान गर्ने भएको छ । मतदान अमेरिकी समयअनुसार बिहान ११ बजे हुने बताइएको छ । सुरक्षा परिषद्को हालको घुम्ती अध्यक्ष बहराइनले उक्त प्रस्ताव पेस गरेको हो ।

प्रस्तावमा सदस्य राष्ट्रहरूलाई स्ट्रेट अफ हर्मुजमा सुरक्षित तवरले आवतजावत सुनिश्चित गर्न परिस्थिति अनुसार आवश्यक र उपयुक्त सबै रक्षात्मक उपाय अपनाउन अनुमति दिने उल्लेख छ । यो प्रस्ताव कम्तीमा छ महिनाका लागि लागू हुने बताइएको छ ।

सुरुमा यो प्रस्ताव यूएनको चार्टरको अध्याय ७ अन्तर्गत राखिएको थियो, जसले सैन्य शक्ति प्रयोग गर्न अनुमति दिन्थ्यो । तर रुस र चीनको आपत्तिपछि सो प्रावधान हटाइएको थियो । प्रस्तावको भाषा अझै पनि चीन र रुसलाई असहज लाग्न सक्ने विश्लेषण गरिएको छ ।

यसअघि इरानलाई दोषी ठहर गर्ने र स्ट्रेट अफ हर्मुजको उल्लेख गर्ने मस्यौदामाथि भएको मतदानमा यी दुवै देशले तटस्थता जनाएका थिए । यसपटक उनीहरूले भिटो प्रयोग गर्ने सम्भावना कायमै रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्, जसले प्रस्तावको भविष्य अनिश्चित बनाएको छ ।