युद्धविरामको प्रयासमा अमेरिका र इरानबीच वार्ता जारी

युद्धविरामको प्रयासमा अमेरिका र इरानबीच वार्ता जारी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार घोषणा गर्दै आएका कैयौँ समयसीमाबीच अमेरिका, इरान र क्षेत्रीय मध्यस्थकर्ताहरू ४५ दिनको सम्भावित युद्धविरामबारे छलफल गरिरहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । यो वार्ताले स्थायी रूपमा युद्धको अन्त्य गर्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी मिडिया आउटलेट एक्सिओसले शान्ति वार्ताबारे जानकारी राख्ने अमेरिकी, इजरायली र क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै यो रिपोर्ट प्रकाशन गरेको हो ।

पाकिस्तान, टर्की र इजिप्टका मध्यस्थकर्ताहरू यस वार्तामा सहभागी भइरहेका छन् । साथै, यसमा ट्रम्पका दूत स्टिभ विटकफ र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच ‘टेक्स्ट म्यासेज’मार्फत भएको संवाद पनि समावेश रहेको बताइएको छ ।

स्रोतका अनुसार, यदि सम्झौता भयो भने यो दुई चरणमा हुने बताइएको छ । पहिलो चरणमा ४५ दिनको युद्धविराम हुने र त्यस अवधिमा युद्धको स्थायी अन्त्यका लागि मध्यस्थता गरिनेछ । दोस्रो चरणमा, आदर्श रूपमा युद्ध समाप्त गर्ने औपचारिक सम्झौता समावेश हुनेछ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले दिएको समयसीमा समाप्त हुने समय नजिकिँदै जाँदा अमेरिका र इजरायलले इरानमाथि हमला तीव्र पारेका छन् । इरानको राजधानी तेहरानको दक्षिण–पश्चिममा अवस्थित एक सहरको आवासीय भवनमा भएको हवाई हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।