अमेरिका-इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा

अमेरिका-इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा



इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणापछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन् ।

उनले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल-१० शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्समार्फत आमन्त्रित गरेका छन् ।

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान हाल तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ता रूपमा देखा परेको छ ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले ’इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विस्वास व्यक्त गरे छन् । तेहरान र वासिङ्टन दुवैले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टा अघि मात्र दुई हप्ताको युद्धविरामका लागि सहमति भएको बताएका छन् ।

इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । फेब्रुअरी-२८ मा सर्वोच्च इरानी नेताको हत्या भएको थियो भने तेहरानबाट प्रतिक्रया स्वरुप खाडी राष्ट्र र इजरायलमाथि जवाबी आक्रमण भएको थियो ।

इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो । सरिफले लेबनानसहितका क्षैत्रमा युद्धविराम लागु भएको बताएका छन् ।

यद्यपि इजरायलले त्यस क्षेत्रमा हिजबुल्लाह विरुद्ध कारबाही गरिरहेको जनाउँदै यस क्षेत्रमा युद्धविराम लागु नभएको जिकिर गरेको छ ।

इरानका सबै पावर प्लान्ट र पुल नष्ट गर्ने ट्रम्पको धम्कीलाई रोक्न पाकिस्तान लगायतका मध्यस्थकर्ताको आह्वानमा अस्थायी युद्धविराम भएको जनाइएको छ ।

टर्की र इजिप्टले पनि हालैका दिनमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उदृत गर्दै एएफपीले जनाएको छ ।