नाइजर । नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा २० जनाको हत्या भएको छ भने अन्य केहीलाई अपहरण गरिएको छ ।
प्रहरी र स्थानीय बासिन्दाका अनुसार मङ्गलवार राति नाइजर राज्यअन्तर्गत पर्ने शिरोरो जिल्लाका गाउँहरूमा यो आक्रमण भएको हो ।
प्रहरी प्रवक्ता वासिउ अबियोडुनका अनुसार बन्दुकधारीहरूले बाग्ना र एरेना गाउँमा आक्रमण गरेका थिए ।
सुरक्षाकर्मीहरू पुगेपछि भएको झडपमा दुई जना सामुदायिक सुरक्षा गार्ड र एक चालकको ज्यान गएको तथा अन्य घाइते भएको बताइएको छ । तर स्थानीय बासिन्दाहरूले कम्तीमा २० जनाको मृत्यु भएको दाबी गरेका छन् ।
उनीहरूका अनुसार आक्रमणकारीहरूले धेरै घण्टासम्म गाउँमा आतङ्क मच्चाउँदै घरहरू ध्वस्त पारेका थिए र सुरक्षाकर्मीलाई समेत पराजित गरेका थिए । आक्रमणपछि केही गाउँलेहरू नजिकका ग्वादा जुम्बा र गलादिमा कोगो क्षेत्रमा भागेर शरण लिन बाध्य भएका छन् ।
नाइजेरियाको उत्तरी क्षेत्रमा अपहरण समूह र इस्लामिक उग्रवादी गतिविधि लामो समयदेखि समस्या बनेको छ । राष्ट्रपति बोला टिनुबुले हिंसा नियन्त्रण गर्न देशका ३६ राज्यलाई आफ्नै प्रहरी बल गठन गर्न दिने प्रस्ताव अघि बढाइरहेका छन् ।


प्रतिक्रिया