काठमाडौं । अमेरिकाका तर्फबाट सार्वजनिक युद्धविराम सम्झौताले मूर्त रूप लिन नपाउँदै यसको प्रभाव कमजोर हुन थालेको देखिएको छ । लेबनानमा इजरायलको आक्रमणपछि परिस्थिति तीव्र गतिमा बदलिँदै गएको छ । र, पश्चिम एसियामा तनाव फेरि चर्किएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका तर्फबाट प्रेससचिव क्यारोलिन लेभिटले इरानका १० बुँदे मागको प्रस्तावलाई डोनाल्ड ट्रम्पले पूर्ण रूपमा अस्वीकार गरिसकेको बताएकी छन् । उनले उक्त प्रस्ताव रद्दीको टोकरीमा फालिएको र स्वीकार गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारिन् ।
लेभिटका अनुसार, इरानले होर्मुज जलमार्ग खोल्न सहमति जनाएको छ । त्यो विश्वव्यापी व्यापारका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिन्छ । उनका अनुसार, इरानको प्रस्तावलाई वार्ताको एक व्यावहारिक आधारका रूपमा मात्र हेरिएको छ ।
ह्वाइट हाउसका अनुसार, इरानको प्रस्ताव अव्यावहारिक भएकाले राष्ट्रपति ट्रम्प र उनको वार्ता टोलीले यसमा गम्भीर रूपमा विचार गर्न समेत आवश्यक ठानेनन् । ट्रम्पले इरानका मागमा आधारित कुनै पनि सर्त स्वीकार नगर्ने बताएका लेभिटले उल्लेख गरिन् ।
उनका अनुसार, कुनै सम्भावित सम्झौता भए पनि त्यो पूर्ण रूपमा अमेरिकाको हितलाई केन्द्रमा राखेर गरिनेछ ।


प्रतिक्रिया