लेबनानमा हमला नरोकेसम्म अमेरिकासँग वार्ता गर्न इरानको अस्वीकार

लेबनानमा हमला नरोकेसम्म अमेरिकासँग वार्ता गर्न इरानको अस्वीकार



काठमाडौं । इरानले अमेरिका र इजरायलसँग स्थायी युद्धविरामका लागि पाकिस्तानमा हुन लागेको वार्तामा बस्न अस्वीकार गरेको छ । उसले इजरायलले लेबनानमा हमला जारी राखेको भन्दै यो हमला नरोकेसम्म वार्तामा सहभागी नहुने अडान राखेको छ ।

इरानको फार्स न्युज एजेन्सीका अनुसार इरान वार्ता सहभागी हुन पाकिस्तान नजाने भएको हो । यसअघि अमेरिकी वेबसाइट वालस्ट्रिट जनरलले इरानी टोली बिहीबार नै वार्ताका लागि पाकिस्तान पुगेको खबर प्रकाशित गरेको थियो ।

यसमा संसदका सभामुख गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी हुने जर्नलले उल्लेख गरे पनि वार्ताको निर्धारित समयभन्दा केही घन्टाअघि इरानले वार्तामा सहभागी हुन लेबनानमाथि आक्रमण रोक्ने सर्त अघि सारेको फार्स न्युजले उल्लेख गरेको छ ।

यसअघि ७ अप्रिलमा अमेरिका र इरानबीच २ साताको युद्धविराम गर्न सहमत भएका थिए । सोही दिन शनिबार इस्लामावादमा वार्ता निश्चित भएको थियो । यसका लागि शुक्रबार नै दुवै देशका टोली पाकिस्तान आउने उल्लेख थियो ।

यो वार्तामा दुई देशबीच इरानको परमाणु कार्यक्रम, स्ट्रेट अफ होर्मुज, ब्यालिस्टिक मिसाइल कार्यक्रम र इरानमाथिको प्रतिबन्धलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको थियो ।