काठमाडौं । अमेरिका र इरानबीचको अस्थायी युद्धविरामको मुख्य सर्त ‘होर्मुज जलमार्ग’बाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्नु रहेको छ । तर, यसै विषयमा दुई देशबीच नयाँ विवाद उत्पन्न भएको छ ।
इरानी संसदका उपाध्यक्ष हाजी बाबाईले होर्मुज जलमार्ग पूर्ण रूपमा इरानको कब्जामा रहेको दाबी गरेका छन् । ‘मेहर न्यूज एजेन्सी’का अनुसार उनले भने, “होर्मुज जलमार्ग इरानका लागि अति संवेदनशील सीमा हो । यो मार्ग प्रयोग गर्ने जहाजहरूले अब इरानी मुद्रा रियालमा नै टोल ट्याक्स (शुल्क) बुझाउनुपर्नेछ ।”
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा होर्मुज जलमार्ग चाँडै खुल्ने दाबी गरेका छन् । अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना दुई जल युद्धपोतले होर्मुज पार गरेको र त्यहाँ बिछ्याइएका बिस्फोटक सामाग्री हटाउन सुरु गरेको जनाएको छ ।
इरानले भने अमेरिकी जहाजहरू जलमार्गमा प्रवेश गरेको दाबी ठाडै अस्वीकार गरेको छ । इरानी सरकारी मिडियाका अनुसार, रिभोलुसनरी गार्ड्सले कुनै पनि सैन्य जहाजले जलमार्ग पार गर्न खोजे कडा जवाफ दिने चेतावनी दिएको छ । इरानले शनिबार आफ्नो चेतावनीपछि एक अमेरिकी युद्धपोत बीच बाटोबाटै फिर्ता भएको दाबी गरेको छ ।


प्रतिक्रिया