काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने बताएका छन् । न्युयोर्क पोस्टसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
वार्ता फेरि इस्लामाबादमै अघि बढ्ने उनले बताएका छन् । ‘दुई दिनभित्रै इस्लामाबादमा वार्ता अघि बढ्नसक्छ । हामी वार्तातर्फ उन्मुख भइरहेका छौँ,’ उनले भनेका छन् ।
गत शुक्रबार इरान र अमेरिकाबीच इस्लामाबादमा २१ घण्टा वार्ता चलेको थियो । उक्त वार्ताले कुनै परिणाम दिन सकेन । अमेरिकाले अत्यधिक सर्त राखेका कारण वार्ता परिणाममुखी नभएको आरोप इरानको छ ।
यता परमाणु कार्यक्रम अघि नबढाउने आफ्नो सर्त मान्न इरान तयार नहुँदा वार्ता सफल नभएको दाबी अमेरिकाले गरेको छ ।
वार्ता असफल भएसँगै अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किएका थिए ।
वार्ताको असफलता पछि होर्मुजमा अमेरिकाले नाकाबन्दी लगायो ।नाकाबन्दीका बीच त्यहाँबाट चार जहाज पार भएको विवरण बीबीसीले प्रकाशित गरेको छ ।


प्रतिक्रिया