अमेरिकी नाकाबन्दीपछि पहिलोपटक तेल ट्यांकर होर्मुज हुँदै पश्चिमतर्फ प्रस्थान

अमेरिकी नाकाबन्दीपछि पहिलोपटक तेल ट्यांकर होर्मुज हुँदै पश्चिमतर्फ प्रस्थान



काठमाडौं । अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएपछि होर्मुज जलमार्गबाट पहिलोपटक एउटा कच्चा तेल बोकेको ट्यांकर पश्चिमतिर प्रस्थान गरेको छ ।

विश्वभरका जहाजहरूको आवतजावत निगरानी गर्ने ‘शिपिङ ट्रयाकिङ मनिटर’ले यसको पुष्टि गरेको हो ।

माल्टाको झण्डा अंकित तेल ट्यांकर ‘अगियोस फ्यानोरियोस–१’ बिहीबार इराकको बसरा बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ, जहाँ अमेरिकी नाकाबन्दी लागु छैन ।

‘मरिन ट्राफिक’का अनुसार, यो जहाज ओमानको खाडीमा करिब दुई दिनसम्म रोकिएको थियो । त्यसपछि पुनः आफ्नो यात्रा सुरु गरेको थियो ।यसैबीच, अमेरिकी नौसेनाले इरान वरपरका व्यापारिक जहाजहरूमाथि कारबाही गर्न आफू तयार रहेको बताएको छ ।

अमेरिकी नौसेनाका युद्धपोतहरूले यस क्षेत्रमा रहेका व्यापारिक जहाजहरूलाई चेतावनी दिँदै उनीहरूले जहाज रोक्न सक्ने र नाकाबन्दी कार्यान्वयन गर्न बल प्रयोग गर्न सक्ने भनेका छन् ।

नौसेनाले रेडियो सन्देशमार्फत भनेको छ, “इरानी बन्दरगाहतिर जाने वा त्यहाँबाट आउने जहाजहरूलाई रोकिनुका साथै जफत गर्न सकिनेछ ।”

यो सन्देश अमेरिकी सेनाको मध्य कमान्डले सामाजिक सञ्जालमा पनि साझा गरेको छ । एक सैन्य अधिकारीले नाम नबताउने सर्तमा यो सन्देश हाल यस क्षेत्रका सबै जहाजहरूलाई प्रसारण भइरहेको पुष्टि गरे ।