बिर्तामोड । झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे ११ बजेको समयमा कन्काई–५ स्थित अमरपथ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ५४५६ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकतर्फ आउँदै गरेको मे १ त ७४०४ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ कामाटोलीका २० वर्षीय समिर अली र मोटरसाइकलमै सवार उनकी भान्जी ५ वर्षीया हाजिरा खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार ४५ वर्षीया नुरेसा खातुन घाइते हुनुभएको छ । उहाँको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
खेत जोतेर सडकमा निस्केको ट्र्याक्टर र सडकमा गुडिरहेको मोटरसाइकल बाटोमा रहेको काँसघारीका कारण एकापसमा नदेखिँदा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ । प्रहरीले दुर्घटनामा सङ्लग्न ट्र्याक्टर र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने मृतकको शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।


प्रतिक्रिया