जिल्ला प्रशासनमै जनप्रतिनिधि कुटिएपछि…

जिल्ला प्रशासनमै जनप्रतिनिधि कुटिएपछि…


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिका–१० का वडासदस्य कृष्ण बस्नेत जिल्ला प्रशासन कार्यालयमै कुटिएका छन ।

हिजो (सोमबार) दिउँसो करिब ३ बजे जिल्ला प्रशासन कार्यालय परिसरमा इस्मा गाउँपालिका–१ हर्पुकोटका विष्णु कुँवरले बस्नेतमाथि हेलमेट प्रहार गरेर कुटपिट गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

घटनापछि फरार आरोपित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रारम्भिक जानकारीअनुसार पारिवारिक विवादका कारण बस्नेतमाथि कुटपिट भएको बुझिएको छ। यद्यपि जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाको कारणबारे आधिकारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन ।

जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील सरकारी कार्यालयको परिसरमै जनप्रतिनिधिमाथि कुटपिट भएको घटनाले सुरक्षा व्यवस्थाप्रति समेत प्रश्न उठाएको छ। प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।