काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका–२ मा मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटमा एकै परिवारका चार जना घाइते भएका छन् । घाइतेमध्ये इन्दल सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते हुनेमा इन्दल सहनी, उनका छोरा उमेश सहनी, श्रीमती भगवती कुमारी सहनी र परिवारकै मुना सहनी रहेका छन् । उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ ।
पीडित पक्षका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको ग्यारेन्टीस्वरूप २६ कठ्ठा जग्गा राजीनामा पास गरिएको थियो । साँवा–ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने मौखिक सहमति भए पनि त्यसअघि नै साहु लक्ष्मी कुर्मी राउतको निधन भएको पीडितको भनाइ छ ।
सहनी परिवारले सुरुमा ६ लाख रुपैयाँ र त्यसपछि पटक–पटक गरी करिब १० देखि ११ लाख रुपैयाँ बुझाइसकेको दाबी गरेको छ । वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको बताइए पनि राउतको निधनपछि उनका छोरा बिलास शाहले उक्त जग्गा अर्को व्यक्तिको नाममा बिक्री गरिदिएको आरोप पीडित पक्षको छ ।
रकम पूर्ण रूपमा चुक्ता गरिसक्दा पनि आफ्नो जग्गा फिर्ता नपाएको सहनीको दाबी छ । विवादित जग्गा भने पछिल्लो १० वर्षदेखि सहनी परिवारले नै जोतभोग गर्दै आएको बताइएको छ ।
मिटरब्याजविरुद्धको पैदल न्याय मार्चका सहभागीसमेत रहेका सहनी आन्दोलनबाट घर फर्किएपछि साहु पक्षले विवादित जग्गामा जबर्जस्ती धान रोप्न खोजेको र त्यसको विरोध गर्दा आफूहरूमाथि आक्रमण भएको पीडित पक्षले जनाएको छ ।


प्रतिक्रिया