रक्सौलमा ७.८२ ग्राम ब्राउन सुगरसहित २ नेपाली पक्राउ, एक महिला फरार

रक्सौलमा ७.८२ ग्राम ब्राउन सुगरसहित २ नेपाली पक्राउ, एक महिला फरार


ग्लोब नेपाल
0
Shares

रौतहट। भारतको बिहार राज्यस्थित रक्सौल प्रहरीले ७.८२ ग्राम ब्राउन सुगरसहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना बाराको रामपुरका अमन लामा उर्फ अमन वर्मा र अर्का पर्साको वीरगञ्ज–गहवा निवासी कन्हैया कुमार रहेका छन्। घटनामा संलग्न रहेको आरोप लागेकी एक महिला भने फरार रहेकी छन्।

रक्सौल प्रहरीका अनुसार लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि एसडीपीओ मनीष आनन्दको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले ह्वाट्सएपमार्फत प्राप्त भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै लक्ष्मीपुर क्षेत्रमा छापामारी गरेको थियो।

बुधबार साँझ गरिएको उक्त कारबाहीका क्रममा दुवै नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ७.८२ ग्राम ब्राउन सुगर, चोरी भएको पल्सर मोटरसाइकल र ओप्पो कम्पनीको एक थान मोबाइल फोन बरामद गरिएको छ।

प्रहरीले फरार महिलाको खोजी तीव्र बनाएको जनाएको छ। साथै बरामद लागूऔषधको स्रोत, आपूर्ति सञ्जाल तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रमेश महतोले जानकारी दिए।

छापामारी अभियानमा प्रहरी अवर निरीक्षक अंशुली आर्या, विकास कुमार पासवानसहित अन्य प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।

मोतीहारीका प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको निर्देशनमा सञ्चालन गरिएको यस अभियानले रक्सौल तथा आसपास क्षेत्रमा सक्रिय लागूऔषध तस्करहरूमा दबाब सिर्जना गरेको भारतीय प्रहरीको दाबी छ। प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्ने जनाएको छ।