काठमाडौं । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक सहभागितालाई प्रवर्द्धन गर्दै आएको काठमाडौं युथ कन्क्लेभ (केवाइसी) को यस वर्षको संस्करण ट्रिब्युट टु जेनजी हिरोज ‘Tribute to Gen Z Heroes’ मुख्य थिमसहित आगामी साउन १६ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुँदैछ।

आयोजकका अनुसार यस वर्षको कन्क्लेभ गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस र योगदानको सम्मान गर्दै आयोजना गर्न लागिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन्। त्यसैगरी, विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल सफल आरोहण गर्नुका साथै के–टु हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई केवाइसी युथ आइकनका रूपमा सम्मान गरिनेछ।
कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, डान्सर तथा मोडल कविता नेपाली, नायक पारस बम (कुल ब्वाइ), गायक–संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, कन्टेन्ट क्रिएटर कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ। कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधानले गर्नेछन्।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट को संयुक्त आयोजनामा हुने कन्क्लेभको टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भेस रहेको छ। एनसेल फाउन्डेसनले कार्यक्रमलाई सहयोग गरेको छ भने ग्लोबल आईएमइ बैंक, रेडबुल नेपाल, खल्ती, नेशनल पाथल्याब र एसीसीए क्रमशः बैंकिङ, इनर्जी, वालेट, डायग्नोस्टिक तथा एजुकेसन पार्टनरका रूपमा रहेका छन्।
कार्यक्रममा करिब ५ हजारबढी युवा तथा विद्यार्थीहरुको सहभागीता हुने आयोजकले विश्वास लिएको छ। साथै, कार्यक्रमको प्रत्यक्ष प्रसारण पाराड्याम टिभी (Paradym TV) को युट्युब च्यानल मार्फत् हुनेछ।



प्रतिक्रिया