लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव आज बिहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा हिजो दिउँसो करिब १ः५० बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालबालिकामध्ये १० वर्षीय रमलुल्लाह र सवनम खातुनको शव फेला परेको हो ।
मंगलबार अबेर रातिसम्म खोजी गर्दा पनि उनीहरू फेला परेका थिएनन् । आज बिहान पुनः खोजी गर्ने क्रममा घटनास्थलभन्दा करिब २.५ किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवा क्षेत्रको लालबकैया नदीमा तैरिरहेको अवस्थामा दुई शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
फेला परेका दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। घटनामा बेपत्ता भएकी तेस्रो बालिकाको खोजी कार्य भने जारी छ ।


प्रतिक्रिया