नुवाकोट । नुवाकोटको थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।
शनिबार बिहान पौने ९ बजे शिवपुरी गाउँपालिका–७ स्थित टोखा–छहरे सडकखण्डमा काठमाडौँबाट दुप्चेश्वर जाँदै गरेको बस आफैं गुडेर सडकछेउमा रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा बसमा सवार बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र इभी भ्यान दुवै सडकबाट करिब ४० मिटर तल खसेका थिए ।
घाइते तीन महिलाको काठमाण्डुको सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । बस रोकिएपछि चालक र यात्रुहरू खाजा खान गएका बेला बस अचानक गुडेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ । प्रहरीले बस चालक सिताराम आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया