नारायणगढ । चितवनको खैरहनी नगरपालिका–१, तरकारीचोकस्थित महेन्द्र राजमार्गमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुई जना एकै परिवारका दिदी–भाइ रहेको खुलेको छ।
मृतकहरूको बुबा शेष अख्तर हुसेनले शवको सनाखत गर्दै उनीहरू आफ्नै छोरा–छोरी भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
बुबा हुसेनका अनुसार मृतकहरू सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ निवासी २३ वर्षीय महेबुब रजा र महोत्तरीको गौशाला नगरपालिका–५ निवासी अजिमा प्रविन रहेका हुन् ।
प्रहरीका अनुसार दुवै जनाको शव आइतबार पोस्टमार्टमपछि परिवारलाई बुझाइनेछ।
शनिबार दिउँसो करिब १२:३० बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दिदी–भाइको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया