छोराको निधन भएको खबर सुनेपछि ढलेकी आमाको मृत्यु

छोराको निधन भएको खबर सुनेपछि ढलेकी आमाको मृत्यु


ग्लोब नेपाल
0
Shares

रुपन्देही । काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेपछि दाङकी एक महिलाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीको आइतबार दिउँसो मृत्यु भएको हो ।

उनका २२ वर्षीय छोरा वसन्त कालाथोकीको दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

वसन्त फ्रान्स जाने तयारीका लागि काठमाडौंको होस्टलमा बसेर भाषा अध्ययन गरिरहेका थिए । उनको हत्याको खबर घरमा पुगेपछि आमा बिना अचेत भई ढलेकी थिइन् । त्यसपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए ।

बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको शवगृहमा राखिएको छ । उनका श्रीमान् रोमहर्श कालाथोकी रोजगारीका क्रममा मलेसियामा रहेका थिए । घटनापछि उनी सोमबार नेपाल फर्किंदै छन् ।

वसन्तको हत्या आरोपमा प्रहरीले बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई पक्राउ गरेको छ । होस्टलमा बस्दै आएका उनीहरूले वसन्तको टाउको र घाँटीमा कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।

घाइते वसन्तलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल, मीनभवन लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिना र रोमहर्शका ११ वर्षीय कान्छा छोरा अहिले हजुरबुवाको साथमा छन् ।