ड्रोन र सैनिक डगसहित साढे ४ हजारभन्दा बढी सैनिक परिचालित

ड्रोन र सैनिक डगसहित साढे ४ हजारभन्दा बढी सैनिक परिचालित


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतमा नेपाली सेनाले परिचालन बढाएको छ। शुक्रबार बिहान ९ बजेसम्म हवाई र जमिनी माध्यमबाट १ हजार २९ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार उद्धार कार्यमा सेनाका ६ र गैरसैनिक ९ गरी १५ वटा हेलिकप्टर परिचालित छन्। नेपाली सेनाका हवाई साधनबाट ७२४ र गैरसैनिक हवाई साधनबाट १०५ गरी ८२९ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १०१ जना विदेशी नागरिक छन्।

यसैगरी, २०० जनाको जमिनी उद्धार गरिएको सेनाले जनाएको छ।

साढे ४ हजारभन्दा बढी सैनिक परिचालित
बाढी प्रभावित जिल्लामा खोज, उद्धार तथा राहत वितरणका लागि नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

खोज तथा उद्धार कार्यमा ड्रोन र सैनिक डगसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।

१ हजार १४५ जनालाई स्वास्थ्य सेवा
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका मेडिकल टोलीले हालसम्म १ हजार १४५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।

वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ५८३ जनालाई स्वास्थ्य सेवा दिएको छ। फिल्ड एम्बुलेन्सबाट खटिएको मेडिकल टोलीले धुन्चे क्षेत्रमा थप ५६२ जनालाई स्वास्थ्य सेवा दिएको सेनाले जनाएको छ।

२० ट्रक राहत सामग्री त्रिशूलीमा
प्रभावित क्षेत्रमा वितरणका लागि नेपाली सेनाका २० वटा ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म ढुवानी गरिएको छ।

त्रिशूली पुर्‍याइएको राहत सामग्री आवश्यकता अनुसार हवाई साधनमार्फत बाढी प्रभावित स्थानहरूमा पुर्‍याउने कार्य भइरहेको सेनाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण र स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य जारी छ।