११ वर्षीय बालकको हत्या आरोपमा एक पक्राउ

११ वर्षीय बालकको हत्या आरोपमा एक पक्राउ


ग्लोब नेपाल
0
Shares

जनकपुरधाम । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको हत्या आरोपमा एक जनालई प्रहरीले पक्राउ गरेको छ । 

राजेशलाई अपहरण गरी भारतमा लगेर हत्या गरेको आरोपमा १७ वर्षिय परिवर्तित नाम जिल्ला ३३ (ए) ०८३/८४ लाई पक्राउ गरिएको बारा प्रहरीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

गत साता भदौ ९ गते बिहान ९ बजेदेखि बालक राजेश बेपता भएका थिए । बालक हराएको भनी पीडित परिवारले सोही दिन ११ बजेर ५० मिनेटमा हराएको भनी प्रहरी चौकी मुसहर्वामा जानकारी गराए लगतै प्रहरीले बालकको खोजतलाश शुरु गरेको थियो । 

भदौ ११ गते बिहान करिब १०ः३० बजे भारत, बिहार, मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदीको किनारमा बालक मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानको क्रममा सीसीटीभी फुटेज, स्थानीयको भनाई र भारतीय प्रहरीसँगको समन्वय श्रोतबाट आरोपित जिल्ला ३३ ले अपहरण गरी हत्या गरेको खुल्न आएपछि तिनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विश्रामपुरबाट बालकलाई अपहरण गरी भारतको सो स्थानमा लगेर कर्तव्य गरी मारेको खुलेपछि उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका किशोरलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।