हात्ती आयो – हात्ती आयो

हात्ती आयो – हात्ती आयो



कार्तिक २७ गते झापा बाहुनडांगीका शंकर लुईटेल र उनको टिमले ३७ वटा हात्तीको हुल नेपाल प्रवेश गरेको मेसेज प्रवाह गरेर हजारौं मानिसलाई अग्रीम सूचना दिए । उनी २५ वर्षदेखि मेची नदी किनारमा घाम पानी चिसो नभनी गैंडा कुरेर बस्छन् र हात्तीको ओहोर दोहोर फोटो खिचेर सारालाई सुसूचित गर्छन्। । उनको सूचना संजाल नेपालदेखि हात्तीको बिचरण क्षेत्र भारत भुटान वर्मासम्म फैलिइएको छ । र, ती सबै देशले सयुंक्त रुपमा हात्तीको हर्कत गतिविधि क्षतिको अनुगमन गर्दछन् । अभिलेख राख्दछन्। । समुदायस्तरको यो सुचना संजाल साँच्चिकै कदरयोग्य छ ।

हालै विश्व संरक्षण पुरस्कारबाट सम्मानित शंकर स्वयमसेवी हुन् । बिना तलब भत्ता सुविधा उनले आफ्नो ५२ वर्ष संरक्षणमा लगानी गरेका छन् । ३ जना विद्यार्थी छोराछोरी उनकै पछिपछि दगुर्छन् । र, ती मन मुटुदेखि कट्टर संरक्षणकर्मी भैसकेका छन् । हात्तीद्वारा मानवीय क्षती भएमा शंकर त्यहाँ पुगिहाल्छन् । उपचार राहत बिमा सहयोग जुटाउन मरिमेटी लाग्दछन् । हात्ती घाइते बिरामी मृत्यु भएमा उद्धार उपचार र अन्त्यष्टिमा उनको सक्रिय अगुवाई रहन्छ । संरक्षणकर्मी ससमाजसेवी ती सरल शालिन त्यागी शंकरको वर्णन गर्न एउटा पुस्तकको दर्कार देखेको छु ।

हात्तीको नाका बाहुनडाँगीमा अर्जुन कार्कीको सक्रियता उस्तै कदरयोग्य छ । उनीहरुका युवा पिंढीको द्रुत्तर उद्धार युवा समूह -यापिड रेस्पोन्स टिम ( आरआरटी) झन चनाखो , तेज र जुझारु छ ।

मेरो लेख जारी हात्ती आतंङ्क र हात्ती व्यवस्थापनको प्रयासमा केन्द्रित हुनेछ । लेखको उद्देश्य मानव हात्ती द्वन्द्व न्युनीकरण भई मानव हात्ती सहअस्तित्वका लागि सुन्दर वातावरण निर्माण होस भन्ने हो ।

सूचना संजालको कमाल
शंकरले समाजिक संजालमा हालेको हात्तीको फोटो र मेसेजले बर्दिया जागरुक भयो । सुदूरपश्चिमदेखि उज्यालो नेपाल सचेतना शिक्षा सामाग्री पोष्टर, पुस्तक, श्रव्यदृष्य समाग्री र पु्र्वजनाउ साइरनका सामान सोलर प्यानल, व्याट्री, साइरन, तार बोकेर २४औं पटक हात्ती प्रभावित सुदूरपूर्व बाहुनडाँगी पुगे । पुर्व र पश्चिम नेपालको संरक्षण टिमको कति सुन्दर सम्बन्ध समन्वय र सहकार्य ।

बर्दियाको ठाकुरद्वारा नागरपालिका र झापाको बाहुनडाँगीले मानव हात्ती द्वन्द्व होइन, मानव हात्ती सहअस्तित्वको असल अभ्यास गरिसकेका छन । हात्तीसँग समुदाय अभ्यस्त छन् । ५ वर्ष भयो हात्तीको खानी बाहुनडाँगीमा कसैले हात्ती आक्रमाणबाट ज्यान गुमाएको छैन । हात्ती सधैं घर आगन टोल खेतीबाट ओहोर दोहोर गरिरहन्छन, तर ती भद्र शान्त, मानवमैत्री र खुशी देखिन्छन्। । किनभने सयौ वर्षदेखि हात्तीसँग लडेर थाकेको समुदाय र टोल हात्तीमैत्री छन्। । अर्को बिकल्प पनि छैन ।

ठाकुरद्वारा नगरपालिकाको राहत र बिमा कार्यक्रमले समुदायलाई शान्त बनाएको छ । हात्तीसँग नलडे नजुधे मानिसको ज्यान नजाने निश्चित छ । जुध्ने घर गोठ अन्न पानी र खेतीको लागि हो । त्यसको बिमा गरेर ढुक्कसँग बस्दा हात्ती आउँछ आफ्नो बाटो जान्छ । र, भौतिक क्षति भएमा बिमाले कभर गर्दछ । नेपाल सरकारको राहत र बिमा सुविधा संसारकै उत्कृष्ट मान्दछन् बिज्ञ, बिमक र बिमितहरु । तर पुरै समुदाय न्युनतम प्रिमियम (रु २५०) तिरेर बिमामा दर्ज हुन जरुरी छ । राहत र बिमाको त्यो सुन्दर हात्तीमैत्री व्यबस्था जानकारी गराउन छुट्टै लेखको दर्कार पर्दछ । जुन म छिट्टै जानकारीमा ल्याउने छु । हात्ती प्रभावित क्षेत्रमा बाक्लो बसोबास गर्ने बहाल र भुपू सैनिकहरुले यो सुन्दर व्यबस्था बुझ्न र बिमामा अनिवार्य आवद्ध हुन जरुरी छ ।

शंकरको मेसेज प्रवाहले हामी पनि तुफान बाहुनडांगी पुग्यौं । हात्तीमैत्री बाहुनडांगीसँग म ज्यादै प्रभावित भए । तर ३७ वटा हात्ती लामो यात्रा गरेर मोरङ्ग छिरिसकेका थिए । हामीले सचेतना कार्यक्रमको लागि झापा, मोरङ्ग, सुनसरी यात्रा ३ पटक ग-यौ । बर्दियादेखि आउनुभएका मेरो संरक्षण गुरु रमेश थापाले ५ दिनको दौरान ३ जिल्लामा १० वटा सचेतना शिक्षाको लामो कक्षाहरु लिनुभयो । मोरङ्गबाट अघि बढिरहेका हात्तीहरु सुनसरी, उदयपुर, सप्तरी जाने सम्भावना औंल्याउनुभयो । २० बढी मिटिङ्गहरु भए । मोरङ्ग सुनसरीमा आरआरटी गठन हुने भए । हजार बढी पुस्तकहरु वितरण भयो । बढी प्रभावित स्थानहरुमा पुर्वजनाउ दिने साइरनहरु जडान भए । भावी आरआरटीलाई टर्च लाईट वितरण गर्ने काम भयो । उमेरले साँढे ६ दशक पुग्न लाग्नु भएका रमेश थापाको दूरदृष्टि , संरक्षणभाव, उर्जा, सहयोगी भावना र त्याग देखेर म गौरवान्वित भएँ ।

मैले प्रार्थना गरे मोरङ्ग, सुनसरी, उदयपुर र सप्तरीमा छिट्टै समुदायका युवा दस्ताले विश्वसनीय र सक्रिय आरआरटी गठन गर्ने छन् । उहाँहरु सुचना संजालमा जोडिने छन् । हात्तीबाट बच्ने र अरुलाई बचाउने पहिलो शक्तिशाली सूत्र सुचना रहेछ । समुदाय अग्रिम वा समयमा सुचित हुँदा मानवीय क्षति शुन्य हुने पक्का रहेछ । सुचनाले बर्दियालाई दौडायो । म पनि बर्दियाबासी भई दौडमा सामेल भएँ । त्यही सुचनाले स्थानीय, प्रदेश र केन्द्र सरकारलाई झक्झकायो । मेचीलाई मोरङ्ग सुनसरीको माया लाग्यो । बाहुनडाँगीका अर्जुन, सन्दिप पनि पढाउन मोरङ्ग सुनसरी दौडिएर पुगे । समुदाय र नागरिकस्तरको त्यो सचेतना, जिम्मेवारीबोध र स्वयमसेवा दौडले मैले संरक्षणको भविष्य उज्वल देखें । बटमअप एप्रोचको माध्यमबाट मुलुक एक दिन स्वर्ग हुने सपना पनि देखें ।

क्षतिको कारण
हात्ती नेपाल प्रवेश गरेको १ महिनाभित्र ४ जनाको ज्यान गयो । हाम्रो प्रशिक्षण यात्राको दौरान एउटा हात्तीको ज्यान लिइयो । मानवीय क्षति नितान्त मानवीय अज्ञानता, लाहापरवाही, त्रुटी र आक्रमण शैलीका कारण भएका थिए । हात्तीलाई छुने, कुट्ने, कराउने, मोटर डोजरले लखेट्ने, घेर्ने, सेल्फी खिच्ने गल्तीले अकालमा ज्यान गइरहेको दृश्य दुखदायी थियो । प्रतिशोधमा हात्तीलाई करेन्टको पासोमा पारेर मार्नु झन द्वन्द्व निम्त्याउनु थियो ।

इटहरी–झापा ३ पटक सडक यात्रा गरी मैले चारकोसे वनको अवशेष चरम अतिक्रमण र उपभोग भएको देखें । योजना बिनाका अव्यबस्थित पूर्वाधारले हात्ती हिड्ने सुरक्षित बन क्षतविक्षत पारेको देखें । बनभित्र र बन छेउमा बनकै दाउराले जाँड रक्सी पारेर हात्तीलाई उक्साइरहेको हाम्रो लत सुधार्न जरुरी छ की ? तीव्र बन विनाशलाई रोक्न बिलम्ब भइसक्यो कि ? जलवायु परिवर्तनको शंखधुन गर्ने मुलुकले अब बाँकी जंगललाई जोगाई छाड्ने इमान्दार प्रतिज्ञा गर्ने हो कि ?

बिद्युतीय तारबार असरदार सुरक्षा उपाय मानिएको छ । तर त्यसले बन जंगल नछेकेर वस्ती र खेतीपाति घेर्ने हो । तर हामीकहाँ उल्टो अभ्यास भयो । साइरन बजेपछि सबैजना अनिवार्य घरभित्र रहने हो । तर साइरनमा मान्छेहरु सामेल भएर होहल्लासहित हात्ती घेर्ने, धपाउन जाने उल्टो अभ्यासले पनि क्षति निम्त्याएको देखियो ।

नदीको अवैध उत्खनन दोहन र बिनासले चुरेको पानी मुहान सुकेको र तराई मरुभुमी भइसकेको धरातलीय यथार्थले पनि हात्तीलाई थप तनाव र अशान्त पारेको बुझ्न गाह्रो थिएन । समग्रमा द्वन्द्व क्षतिका कारणहरु मानव निर्मित लाग्दथे । हात्ती पृथ्वीमा रहेसम्म उनीहरुले पैत्रिक बासस्थान र मार्गमा विचरण गरिरहने छन् । हामी हात्ती अनुकूलन भई आफू पनि बाच्ने र हात्तीलाई पनि बाँच्न दिनेको अर्को विकल्प छैन ।

कोशीको कोशिस
कोशीका राजनीतिक नेतृत्व यानेकी मुख्यमन्त्रीको द्वन्द्व व्यवस्थापन पहल, संरक्षणभाव र संरक्षण संकल्प उदाहरणीय थियो । राजनीतिक नेतृत्वको त्यति प्रेरणादायी र उर्जाशील संकल्प तथा प्रतिबद्ध टिम मैले जीवनमा पहिलो पटक देखेको हुँ । बनमन्त्री बन सचिव हुँदै जिल्ला बन अधिकारीहरु र चीफ वार्डेनको संयुक्त टिम र टिमवर्क हात्ती व्यवस्थापन र प्रकृति संरक्षणका लागि अचुक अस्त्र लाग्दथ्यो । मैले प्रार्थना गरें, हात्तीले जुराएको र जुटाएको त्यो बृहद टिम सधैं एक ढिक्का र शसक्त रहिरहोस् । चीफ वार्डेन र जिल्ला बन अधिकारीहरुको त्यही दौडाई खटाई र गराई कायम रहने हो भने हात्ती पूर्वमा अभिशाप होइन बरदान हुनेछ । छिनमा द्वन्द्व नियन्त्रण भइ मानव-हात्ती सहअस्तित्व कायम हुनेछ ।

पूर्वी पृतनापतिको संरक्षण चासो चिन्ता र संकल्पले नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरुलाई उर्जावान बनाएको छ । हौसला र मनोबल उठाएको छ । संरक्षण सचेतना र शिक्षा कक्षामा समुदायसँगै सबै सुरक्षा निकायहरुको उत्साहजनक सहभागिताले हात्ती आतंक साम्य पार्न र उद्धारमा फष्ट रेष्पोण्डर भई स्वस्फूर्त जुट्न सुरक्षा निकायहरु दत्तचित्तसाथ जागरुक र तत्पर छन् भन्ने सन्देश प्रवाह भएको छ । हात्तीले सबै सुरक्षा निकायहरुलाई एउटै मालामा उनेको छ । सुरक्षा निकायहरु र समुदायको सम्पर्क सम्बन्धलाई गुणस्तरीय सिमेन्टले जस्तो जोडेर एक ढिक्का बनाएको छ । स्थानीय पदाधिकारीहरुलाई राम्रो काम देखाउन प्रेरणा र बल मिलेको छ । विद्यार्थी शिक्षकलाई संरक्षण गुरु र दूत हुन प्रेरणा मिलेको छ ।

मेरो सपना र प्रार्थना
मानव बन्यजन्तु द्वन्द्वको पहिलो समाधान सूचना हाँसिल, सूचनाको छिटो र दुरुस्त प्रवाह र सदुपयोग तथा सामूहिक शान्तिपूर्ण सावधानी र सतर्कता हो । दोस्रो रामवाण समाधान सचेतना शिक्षा अनिवार्य घर–घर, परिवार–परिवार र हरेक ब्यक्तिसम्म पु-याउनु हो । यो प्रशिक्षण स–साना विद्यार्थीहरुलाई दिँदा उनीहरु संरक्षण गुरु र संरक्षणदूत् हुने उत्साह र जाँगर देखियो ।

सचेतना शिक्षा सवै सुरक्षा निकायहरुलाई दिन सकेमा उनीहरुले समुदायलाई प्रशिक्षण गर्ने, सुसुचित गर्ने, सुरक्षा उपाय अनुशरण गर्न सिकाउने, मानवीय लापर्वाही र त्रुटी हुन नदिने र उद्धार राहत पुनरनिर्माण कार्यमा मद्दत गर्ने असल सम्बन्धको सकारात्मक वातावरण सृजना हुने अबश्यम्भावी छ । तसर्थ, मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण र सहअस्तित्वका लागि सशक्त सूचना संजाल र सचेतना शिक्षा अनिवार्य छ ।

अन्त्यमा, सजीव हात्तीसार र हात्तीको प्राक्टिकल विश्वविद्यालय बाहुनडाँगीको हात्तीमैत्री हात्ती व्यवस्थापन कला र संस्कृति उदयपुरसम्म फैलियोस्। । यो हात्तीमैत्री संस्कृतिलाई अझ परिस्कृत गरेर बाहुनडाँगीका हरेक किसान, घर, गोठ, खेतिपाती बिमामा अनिवार्य आबद्ध हुन् र सधै खुशी सुखी शान्त जीवन जिउन् । उनीहरुको त्यो पहल प्रयास र कला संस्कृित हेर्न भारत, भुटान, श्रीलङ्कालगायत अन्तर्राष्ट्रिय हात्तीप्रेमी अध्येता, अनुसन्धानकर्ता र विज्ञहरुको बाहुनडाँगीमा ओहिरो लागोस् । त्यो हात्तीसार छिटै हात्ती पर्यटनशालामा परिणत होस् र नेपालको समृद्धिको ढोका सुदूरपुर्वको विन्दू बाहुनडाँगीबाट भित्रिन सुरु होस् । बर्मादेखि नेपालसम्म वर्षेनी निर्वाध विचरण यात्रा गरिछाड्ने ती हात्तीहरु नेपालमा खुशी सुखी शान्त र सुरक्षित रहून । नेपाली नेतृत्वहरुलाई हात्ती जस्तै सामुहिकभाव, मेलमिलाप र एकताको आशीर्वाद दिउन् । आफ्नो खुट्टामा आफै उभिने स्वाभिमानको पाठ सिक्न प्रेरणा र शक्ति प्रदान गरुन् । आफूजस्तै हर समस्याको समाधान आफै खोज्न र असल समाधानको बाटो आफै पहिल्याएर स्वभिमान र स्वतन्त्र जीवन जिउन हामी नेपालीलाई रामवाण आशीर्बाद पनि दिउन् ।