शिवम् सिमेन्टको ८औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्टको ८औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित



काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शिवम् सिमेन्टले कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा यहि पौष २७ गते राष्ट्रिय सभागृह, काठमाडौंमा सभा सम्पन्न गरेको हो ।

उक्त सभाले आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आ.व.२०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको हो ।

देशको बृहत् संरचनात्मक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको यस उद्योगले जर्मन प्रविधि प्रयोग गरेर आफ्नै खानीबाट चुनढुङ्गासहित उच्च गुणस्तरको ओपीसी सिमेन्ट उत्पादन गर्छ।